निषेधाज्ञा : झापाका बजार तथा सडक सुनसान, घर बाहिर निस्किनेलाई कारबाही गर्दै प्रहरी
झापा । झापामा आजदेखि निषेधाज्ञामा थप कडाई गरिएको छ । जिल्ला प्रशासन कार्यालय झापामा बसेको जिल्लास्तरीय कोभिड १९ सङ्कट व्यवस्थापन केन्द्र (डिसीसीएमसी) को बैठकले जेठ ७ गते मध्याराती १२ बजेसम्मको लागि निषेधाज्ञा लम्बाउँदै थप कडाई गरेको हो । थप कडाईसँगै जिल्लाका बजार तथा पसल पूर्ण रुपमा बन्द छ । यातायातका सवारीसाधनमाथि पनि रोक लगाउदा सडक सुनसान बनेको छ । प्रहरीले घरबाट बाहिर निस्किनलाई होल्ड गरेर कारवाही समेत थालेको झापाका प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिमिल्सिनाले जानकारी दिएका छन् ।
जिल्लामा हरियो तरकारी, फलफूल, दूध तथा दूधजन्य पदार्थ स्थानीय तह र स्थानीय उद्योग बाणिज्य संघको समन्वयमा बिहान ८ बजे भित्र घरघरमा होम डेलिभरी सेवा उपलब्ध गराउने नियम लागु गरिएको उनले बताए । साथै औषधि खरिद तथा उपचारका लागि बाहेक कुनै पनि व्यक्ति घर बाहिर ननिस्कने, अत्यावश्यक सेवा सञ्चालन बाहेकका सरकारी कार्यालय, सार्वजनिक संस्थान, बिमा लगायतका कार्यालयहरू स्थगन गर्ने र त्यस्ता कार्यालयमा न्यूनतम कर्मचारी मात्र उपस्थिति भई काम गर्ने, त्यहाँका कार्यरत कर्मचारीले परिचयपत्रका आधारमा बिहान ९ देखि १० र बेलुका ५ देखि ६ बजेसम्म सरकारी तथा निजी सवारीसाधन चलाउन पाउने, बैङ्क तथा वित्तीय संस्थाहरू न्यूनतम कर्मचारीको उपस्थितिमा हप्ता दुई दिन सञ्चालन गर्न पाउने, सहकारी संस्थाहरूले बचत सङ्कलन स्थगित भएको छ । भारतको खुला नाकासँग जोडिएको झापा जिल्ला पछिल्लो पटक कोरोना सङ्क्रमितको सङ्ख्या ह्वातै बढेको छ । जिल्ला बिहीबारसम्म २ हजार ४६५ जना सक्रिय संक्रमित रहेका छन् । जिल्लामा मृतकको सङ्ख्या १७१ पुगेको स्वास्थ्य कार्यालय झापाले जनाएको छ ।