दमकको जुवा खालमा प्रहरीले छापा, दुई लाख बढी नगदसहित ११ जुवाडे
झापा । दमकको जुवा खालमा प्रहरीले छापा मारेर दुई लाख बढी नगदसहित ११ जना जुवाडेलाई पक्राउ गरेको छ । दमक नगरपालिका ७ हाट खोलाका कर्णबहादुर राईको घरमा जुवा खेलिरहेको विशेष सूचनाको आधारमा इलाका प्रहरी कार्यालय दमकको प्रहरी टोलीले शुक्रवार साँझ छापा मारेको थियो । प्रहरीले छापा मारेर दुई लाख आठ हजार पन्चानब्बे रुपैयाँ नगद, कौडा १६ थान र ओछ्याएको कार्पेटसहित जुवाडेहरूलाई पक्राउ गरेको हो ।
पक्राउ पर्नेहरूमा घरधनी दमक ७ बस्ने ४० वर्षीय कर्णबहादुर राई, गौरादह ३ बस्ने ४२ वर्षीय दिनेश अधिकारी, सोही नगरपालिका ८ बस्ने ३८ वर्षीय इन्द्रकुमार राजवंशी,सुनसरी इटहरी उप–महानगरपालिका ४ बस्ने ३५ वर्षीय विक्रम गुरुङ, गौरादह २ बस्ने ३२ वर्षीय निर्मल थापा, दमक २ बस्ने ४२ वर्षीय रामबहादुर धिमाल, वडा नं ७ बस्ने ४० वर्षीय राजन दाहाल,गौरादह ३ बस्ने ३४ वर्षीय अङ्कित कार्की,दमक ७ बस्ने ४४ वर्षीय गङ्गा पाठक, सुनसरी इटहरी उप–महानगरपालिका १९ बस्ने २६ वर्षीय मिलन राई र दमक नगरपालिका ६ बस्ने ३३ वर्षीय विजय सिंह रहेका छन् ।