सरकारी नम्बर प्लेटको मोटरसाइकलमा ब्राउन सुगरसहित दुईजना पक्राउ
झापाको सीमावर्ती क्षेत्रमा भारतबाट नेपालतर्फ आउँदै गरेको सरकारी नम्बर प्लेट भएको मोटरसाइकलबाट लागू औषधसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ।
गएराति ८ः२० बजे झापा गाउँपालिका–४ स्थित सुकुम्वासी बस्तीबाट उनीहरूलाई पक्राउ गरिएको हो। टाघनडुब्बा प्रहरी चौकीबाट प्रहरी सहायक निरीक्षक कृष्ण गिरीको कमान्डमा खटिएको प्रहरी टोलीले भारतबाट नेपालतर्फ आउँदै गरेको मे १ ब ३१८ नम्बरको सरकारी नम्बर प्लेट भएको मोटरसाइकललाई शङ्का लागेर चेकजाँच गरेको थियो।
त्यस क्रममा चालक शिवसताक्षी नगरपालिका–९ निवासी २२ वर्षीय नगिन्द्र दर्जीको साथबाट कालो प्लास्टिकमा पोको पारेर लुकाइछिपाइ ल्याइएको प्लास्टिकबाहेक१ ग्राम १८ मिलिग्राम ब्राउन सुगर बरामद भएको छ।
सोही मोटरसाइकलमा सवार कनकाई नगरपालिका–३ निवासी ३७ वर्षीय बलबहादुर सुवेदीलाई समेत प्रहरीले नियन्त्रणमा लिएको छ। दुवै जनामाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
सो मोटरसाइकल पशु सेवा कार्यालय भद्रपुरको नाममा दर्ता रहेको यातायात व्यवस्था कार्यालय बिर्तामोडले जनाएको छ । सो मोटरसाइकल पशु सेवा कार्यालयले २०७३ सालमा कनकाई नगरपालिकालाई हस्तान्तरण गरेको थियो । कनकाई नगरपालिकाको अधीनमा रहेको सो मोटरसाइकल चोरी गरी दर्जी र सुवेदीले चलाउँदा पक्राउ परेको नगर प्रमुख राजेन्द्र पोखरेलले बताए ।