नेपाल समूहले प्रधानमन्त्री देउवालाई विश्वासको मत नदिने घोषणा
काठमाडौं । नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल समूहका सबै नेताले प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत नदिने भएका छन् । पार्टी एकता जोगाउन गठित कार्यदलका सदस्यसहित अन्य केही नेताहरुले विश्वासको मत नदिने भएका छन् ।
देउवालाई विश्वासको मत दिने विषयमा विवाद भएकै कारण विघटित कार्यदलका नेपाल पक्षका संयोजक भिम रावलले भने सांसदवाट राजिनामा दिइसकेका छन् । एमाले विवाद मिलाउन गत जेठ २ गते गठित कार्यदलमा रहेका नेपाल पक्षीय सदस्यहरुसहित १५ सांसदले विश्वासको मतका क्रममा तटस्थ बस्ने निर्णय लिएको सो पार्टीका नेताले बताएका छन् ।
एमालेको माधव पक्षका नेताले भोट नदिए पनि देउवाका लागि विश्वासको मत भने पुग्ने भएको छ । नयाँ बानेश्वरस्थित संसद भवनको ल्होत्से हलमा केही बेरअघिसम्म भएको छलफलपछि एमाले स्थायी कमिटीका ४ सदस्यहरु घनश्याम भुसाल, सुरेन्द्र पाण्डे, गोकर्ण विष्ट र योगेश भट्टराई तटस्थ बस्ने निर्णय गरेका हुन् ।
कार्यदलमा रहेका घनश्याम भुसाल, गोकर्ण विष्ट र सुरेन्द्र पाण्डेले विश्वासको मत नदिने भएका छन् । कार्यदलमा नरहेका योगेश भट्टराई, दीपकप्रकाश भट्ट, झपट रावल, यज्ञराज सुनुवार, सोमप्रसाद पाण्डे, नारायण खतिवडा, राजबहादुर बुढा, लगायत अन्य केहीले पनि विश्वासको मत नदिने भएका छन् । विश्वासको मत नदिने सांसदहरु तटस्थ बस्ने भएका छन् ।