कोरोना भाइरस : झापाको बुद्धशान्ति गाउँपालिका एक साता 'सिल'
झापा । कोरोना भाइरस तीव्र गतिमा फैलिएको भन्दै झापाको बुद्धशान्ति गाउँपालिका एक साताका लागि सिल गरिने भएको छ । गाउँपालिकाले भोलि (मङ्गलवार) राति १२ बजेबाट १२ गते मङ्गलवार राति १२ बजेसम्मका लागि सबै वडा सिल गर्ने निर्णय गरिएको गाउँपालिका अध्यक्ष रमेशकुमार भुजेलले जानकारी दिए ।
पछिल्लो समय कोरोना संक्रमण अनियन्त्रित बन्दै गएपछि सोमबार गाउँपालिकामा बसेको राजनीतिक दल, उद्योग वाणिज्य सङ्घ, जनप्रतिनिधि, स्थानीय प्रशासनको संयुक्त बैठकले एक हप्ताका लागि सम्पूर्ण पसल, व्यवसाय, मानिसको आवतजावत पूर्ण रुपमा बन्द गर्ने निर्णय भएको गाउँपालिका प्रमुख भुजेलले बताए ।
कोरोना संक्रमण भयावह बन्दै गइरहेकाले गाउँवासीलाई सुरक्षित राख्न बाध्य भएर सिल गरिएको बताउँदै प्रमुख भुजेलले सबैलाई अत्यावश्यक काम बाहेक घर बाहिर ननिस्कन आग्रह गरिएको बताए । निर्देशनको पालना नगर्ने जो कोहीलाई प्रचलित कानुन बमोजिम कारबाही गरिने उनले बताए । बुद्धशान्तिमा पछिल्लो दुई दिनमा मात्र १ सय ७९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।