बिर्तामोडको पूर्वाञ्चल क्यान्सर अस्पतालमा एफएनएसी र बायोप्सी परीक्षण सुरू
झापा। बिएन्डसी मेडिकल कलेज तथा पूर्वाञ्चल क्यान्सर अस्पतालले हालसालै विश्वस्तरीय ल्याब सञ्चालनमा ल्याएको जनाएको छ ।अस्पतालमा पत्रकार सम्मेलन गरी कार्यकारी निर्देशक दुर्गा प्रसाईंले अत्याधुनिक ल्याब सञ्चालनमा ल्याइएको जानकारी दिए । ‘अब कुनै पनि रोग पत्ता लगाउन विदेश वा काठमाडौँ धाउनु पर्दैन’, प्रसाईंले भने । पत्रकार सम्मेलनमा प्याथालोजिस्ट डा उज्ज्वल राईले विश्वका अन्य ल्याबमा परीक्षण गरिने सबै प्रकारका रोग बिएन्डसीमा स्थापना गरिएको ल्याबबाट पत्ता लगाउन सकिने जानकारी दिए ।अस्पतालमा फाइन निडल अस्पिरेसन साइटोलोजी ९एफएनएसी० र बायोप्सी परीक्षण गर्न सकिने डा राईले बताए । शरीरका भित्री अंगमा सुइको माध्यमबाट क्यान्सरजस्ता जटिल रोग पत्ता लगाउन एफएनएसी परीक्षण हुने गरेको पनि उनले जानकारी दिए ।
त्यस्तै, बायोप्सी परीक्षण पनि बिएन्डसी हाताभित्रै हुँदै आएकोमा अझ अत्याधुनिक र उच्चस्तरीय बनाइएको डा राईको भनाइ छ । जीवित शरीरबाट निकालिएको टिस्युको परीक्षण गरी रोग पत्ता लगाउन बायोप्सी परीक्षण गरिन्छ ।अस्पतालले स्वचालित मेसिनहरु ल्याएर ल्याब स्थापना गरेको कार्यकारी निर्देशक प्रसाईंले जानकारी दिए । अत्याधुनिक ल्याबको अभावमा खास रोग पत्ता नलागेर धेरै बिरामीको सही उपचार हुन नसकिरहेका बेला बिएन्डसीले विश्वस्तरीय ल्याब स्थापना गरेर सञ्चालनमा ल्याएको जनसम्पर्क तथा सूचना अधिकारी प्रमिस गिरीको भनाइ छ ।