२०८३ बैशाख १५ गते , मंगलबार

भद्रपुरको गौरीशङ्करमा कोरोनाको महामारी फैलियो, १०२ जनाको परीक्षण गर्दा ६ बालबालिकासहित ३८ संक्रमित

sajilo news
पार्थ मण्डल
२०७८ श्रावण ७ गते , विहीबार
भद्रपुरको गौरीशङ्करमा कोरोनाको महामारी फैलियो, १०२ जनाको परीक्षण गर्दा ६ बालबालिकासहित ३८ संक्रमित

भद्रपुर । भद्रपुरमा एकै दिन ४५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । मेची अस्पतालमा गरिएको पीसीआर परीक्षणबाट सात जना र एन्टेजिन किटबाट ३८ जना गरी ४५ जनामा संक्रमण पुष्टि भएको नगर स्वास्थ्य शाखाका फोकल पर्सन मनोज भट्टराईले जानकारी दिए । उनका अनुसार भद्रपुर नगरपालिका-२ पृथ्वीनगरस्थित गौरीशङ्कर गाउँभरि ज्वरो र रुघाखोकी लागेर बिरामी फेला परेपछि नगर स्वास्थ्य शाखाको टोलीले बिहीबार त्यहाँ एन्टेजिन परीक्षण गराएका थिए ।

गाउँका १०२ जनाको परीक्षण गर्दा ३८ जनामा संक्रमण पुष्टि भएको फोकल पर्सन भट्टराईले बताए । ३८ जनामध्ये ६ जना १० वर्षमुनिका बालबालिका रहेको उनले बताए । कोरोना पुष्टि भएका अधिकांश व्यक्ति एकै परिवारका सदस्य रहेका छन् । गत शनिवार पनि गौरीशङ्कर गाउँमा २३ जनाको एन्टेजिन परीक्षण गर्दा ११ जनामा संक्रमण पुष्टि भएको थियो ।  सो गाउँमा कोरोनाको जोखिम उच्च देखिएको उनले बताए । गाउँवासीलाई स्वास्थ्य सुरक्षाको मापदण्ड अपनाउनुका साथै उच्च सतर्कता अपनाउन नगरपालिकाले आग्रह समेत गरेको छ । 

यता भद्रपुरमा दोस्रो लहरको सङ्क्रमणबाट हालसम्म १५५० जनामा संक्रमण पुष्टि भएको छ । त्यसमध्ये निको हुनेमा १२५५ जना रहेको छ, भने ३५७ जनाको होम आइसोलेसन उपचार भइरहेको जनाइएको छ । हालसम्म भद्रपुरमा सङ्क्रमणबाट ३१ जनाको ज्यान गएको छ । 

सम्बन्धित समाचार