सुजिता मृत्यु प्रकरणका एकसहित झापामा दुई जना पक्राउ
झापा । दुई अलग अलग हत्यामा संलग्न झापाका दुईजना पक्राउ परेका छन् । पूर्वीचितवनको राप्ती नगरपालिका–३ का २३ वर्षीया सुजिता भण्डारी मृत्युको अनुसन्धान गरिरहेको प्रहरीले झापाबाट एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा झापा गाउँपालिका–६ शरणामतिका २३ वर्षीय सचिन भनिने सुकदेव भण्डारी छन् । जिल्ला प्रहरी कार्यालयद्वारा आज यहाँ आयोजित पत्रकार सम्मेलनको उनलाई काठमाडौँबाट पक्राउ गरिएको जानकारी दिइयो ।
प्रहरी उपरीक्षक ओमप्रसाद अधिकारीले सुजिताको आमा अम्बिका भण्डारीको जाहेरीले अभियुक्त सुकदेवलाई पक्राउ गरिएको जानकारी दिए । गतअसार ११ गते घरबाट हराएकी सुजता २० गते घर नजिकैको ब्रह्मस्थानी सामुदायीक वनमा मृतावस्थामा भेटिएकी थिइन । पक्राउ पर्ने सुकदेव र सुजिताको सम्बन्ध नाताले ठूलो बाको छोरा र काकाको छोरी भएपनि दुवै बीचको प्रेम सम्बन्धका रहेको अनुसन्धामा खुलेको प्रहरीले जनाएको छ । प्रेम सम्बन्ध भएका उनीहरु एक अर्कामा टाढिएर बस्न नसक्ने जनाउँदै सुजिताले गरेको विवाह प्रस्ताब सुकदेवले अस्विकार गरेपछि घटना भएको प्रउअधिकारीले जानकारी दिए ।
असार ९ गते उनीहरुबीच विवाहका बिषयमा विवाद हुँदा सुजिताले ‘विवाह नगरे मर्छु’ भनेको र सुकदेवले ‘जे गर्ने हो गर’ भनेको प्रारम्भिक अनुसन्धानमा देखिएको पत्रकार सम्मेलनमा जानकारी दिइयो । मृतक सुजिताको भिसेराको नतिजा आउन बाँकी रहेको छ । सुकदेव विरुद्ध आत्महत्या दुरुत्साहन अभियोगमा मुलुकी अपराध संहिता २०७४ परिच्छेद १२ ज्यानसम्बन्धी कसूर अन्तर्गत दफा १८५ मा पाँच वर्ष कैद र रु ५० हजारसम्म जरिवानाको माग दावि प्रहरीले गरेको छ ।
यसक्रममा गेउरिया खोलाको डिलबाट धकेलेर हत्या गर्ने गौरादह ७ दुधाली बस्ने २५ वर्षिय सितकुमार ऋषिदेव पक्राउ परेका हुन् । शुक्रबार बिहान १० बजे गौरादह ४ र १ को बीचमा पर्ने गेउरिया खोलाको किनारमा गौरादह बजार तथा गाउँमा मागी खाने सुनसरी ईटहरी उपमहानगरपालिकाअन्तर्गत पर्ने खनार ठेगाना बताउने अन्दाजी ५० वर्षियका टुनटुन ऋषिदेबको लाश स्थानीय मानिसहरुले फेला पारेर प्रहरीलाई खबर गरेका थिए । घट्नास्थलमा ईलाका प्रहरी कार्यालय दमकबाट प्रहरी टोली खटि गई घटनाको सम्बन्धमा स्थलगतरुपमा बुझेर अनुसन्धान थालेको थियो । हत्या गर्ने ऋषिदेवको खोजतलास गर्ने क्रममा स्थानीय गाउँघरमै लुकिछिपी बसेको अवस्थामा फेला पारी उनलाई पक्राउ गरिएको हो । ईप्रका दमकमा ल्याई प्रारम्भिक अनुसन्धान गर्दा उनले टुनटुन ऋषिदेवलाई सामान्य विवाद भई धकेल्दा गेउरिया खोलाको पानीमा झरेर डुबी ननिस्किएको हुँदा मृत्यु भएको शंका लागेर भागेको बयान दिएका छन् ।