झापामा स्रोत नखुलेको ४० लाख बढी रकमसहित एक जना पक्राउ
झापा । झापामा स्रोत नखुलेको नेपाली ४० लाख नगदसहित एक व्यक्ति पक्राउ परेका छन् । पक्राउ पर्नेमा झापा गाउँपालिका-२ बेलाईतिबारी निवासी ४६ वर्षीय गौरी मण्डल रहेको प्रहरी कार्यालय झापाका डिएसपी राकेश थापाले जानकारी दिए । भारतबाट नेपालतर्फ रकम बोकेर आइरहेको विशेष सूचनाको आधारमा प्रहरी कार्यालय झापा र इलाका प्रहरी कार्यालय कुमरखोदको संयुक्त टोलीले मण्डललाई झापा गाउँपालिका २ स्थित दशगजा क्षेत्रबाट पक्राउ गरेको हो ।
उनका साथबाट प्रहरीले स्रोत नखुलेको नेपाली ४० लाख ३७ हजार ६ सय ७० रुपैयाँ फेला पारेको हो । पक्राउ परेका उनलाई आवश्यक कारबाहीका लागि प्रहरी कार्यालय झापा ल्याइएको छ । पक्राउ परेका मण्डल झापा गाउँपालिकाका अन्नबाली खरिद बिक्री गर्ने व्यापारी हुन् । उनलाई सो रकम भारत डिगलबैंकका व्यापारी पिन्टु र फिरोजले दिएर नेपाल पठाएको प्रहरी स्रोतले जनाएको छ ।