२०८३ बैशाख १९ गते , शनिबार

बिर्तामोडको होटेलबाट १०० भायल कोरोना खोपसहित स्वास्थ्य कर्मचारी पक्राउ

sajilo news
पार्थ मण्डल
२०७८ श्रावण १५ गते , शुक्रबार
बिर्तामोडको होटेलबाट १०० भायल कोरोना खोपसहित स्वास्थ्य कर्मचारी पक्राउ

झापा । होटेलबाट कोरोनाविरुद्धको खोपसहित बिर्तामोड नगरपालिका स्वास्थ्य शाखाका फोकल पर्सन ओम खड्कालाई प्रहरीले नियन्त्रणमा लिएको छ । 
स्थानीय युवाहरूले बिर्तामोड नगरपालिका–१ स्थित होटेल टाएमलेस मोमेन्टबाट १०० भायल खोपसहित स्वास्थ्य शाखाका फोकल पर्सन खड्कालाई शुक्रवार दिउँसो रंगेहात समातेका थिए । 
होटेलको दराजमा लुकाएर राखिएको अवस्थामा खोप फेला परेपछि खड्काले सिलबन्दी कार्टुन फोडेर खोप अन्यत्र लुकाएका थिए । लुकाइएको खोप होटेलको प्रतीक्षालय कक्षको टेबलमा फेला परेको थियो । 
खड्काले सोही होटेलभित्र आफ्ना निकट व्यक्तिलाई बोलाएर खोप लगाउने गरेको सूचना पाएपछि स्थानीय युवाहरू त्यहाँ पुगेका थिए । होटेलमा खोप भेटिएपछि भेला भएका युवाहरूले आक्रोश पोख्दै भने, ‘दिनभरि लाइनमा लागेका नागरिकले खोप लगाउन नपाउने र स्वास्थ्य शाखाका प्रमुख खडकाले चाहिँ खोप होटेलमा ल्याएर लगाउने, यस्ता व्यक्तिलाई कानुन बमोजिम कारबाही गरिनुपर्छ ।’ 
यता खोपसहित स्वास्थ्य शाखाका खड्का समातिएको खबर प्रहरी समक्ष पुग्न साथ इलाका प्रहरी कार्यालय अनारमनिको टोली तुरुन्त घटनास्थल पुगेका थिए । 
त्यसपछि प्रहरीले १०० भायल खोपसहित खड्कालाई नियन्त्रणमा लिएको लिएको प्रहरी कार्यालय झापाका डिएसपी राकेश थापाले जानकारी दिए । ‘खड्कालाई इलाका प्रहरी कार्यालय अनारमनिमा राखिएको छ,’ उनले भने, ‘खोप कसरी, कहाँबाट र कसका लागि लगिएको त्यस बारेमा थप अनुसन्धान भइरहेको छ ।’ 
यता खडकाले आफू होटेलमा बसेकाले स्वास्थ्य कार्यालयको गाडीले यहाँ ल्याएर छाडेर गएको प्रतिक्रिया दिएका छन् । बिर्तामोड स्वास्थ्य शाखाका प्रमुख तुलसी पोखरेलले होटेलमा खोप पुगेको विषयमा आफूलाई जानकारी नभएको बताएका छन्   


 

सम्बन्धित समाचार