हालसम्म झण्डै एक करोड खोप आयो, चैत मसान्तसम्म सबै नागरिकले पाउने
काठमाडौं । नेपालमा हालसम्म कोरोना भाइरसविरुद्धको झण्डै एक करोड डोज खोप आएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार हालसम्म विभिन्न कम्पनीका ९७ लाख ८२ हजार ८ सय ५० डोज खोप प्राप्त भएको हो। चिनियाँ भेरोसेल खोप ५८ लाख, कोभिशिल्ड खोप २४ लाख ४८ हजार र जोन्सन एण्ड जोन्सन खोप १५ लाख ३४ हजार ८ सय ५० डोज प्राप्त भएको मन्त्रालयले जनाएको छ।
कोभिसिल्ड खोप भारतले अनुदानस्वरुप दिएको १० लाख, नेपाली सेनालाई प्राप्त एक लाख भारतको सेरम इन्स्टिच्युटबाट खरिद गरिएको १० लाख तथा गाभी कोभ्याक्स सुविधा बापत ३ लाख ४८ हजार डोज प्राप्त भएको मन्त्रालयले प्रेस विज्ञप्तीमा उल्लेख गरेको छ। अमेरिकाले अनुदानमा जोन्सन एण्ड जोन्सनको १५ लाख ३४ हजार ८ सय ५० डोज खोप उपलब्ध गराएको थियो । चीनले दुई पटक अनुदानमा १८ लाख र सिनोफार्म कम्पनीसँग खरिद गरिएको ४० लाख डोज खोप आएर खोप अभियान संचालन भइरहेको छ।
मन्त्रालयका प्रवक्ता डाक्टर कृष्ण पौडेलका अनुसार सिनोफार्मसँग थप ६० लाख डोज खोप खरिदको सम्झौता अघि बढिसकेको छ। साथै कोभ्याक्स सुविधाबाट जापानले अनुदानमा उपलब्ध गराउने १६ लाख र भारतबाट यसअघि नै खरिद गरिएको १० लाख डोज प्राप्त हुँदा असोज मसान्तभित्र एक करोड ८३ लाख ८२ हजार ८ सय ५० डोज प्राप्त हुने अनुमान मन्त्रालयको छ।
कोभ्याक्सबाट लागत सहभागितामा खरिद गरी १ करोड ५० लाख डोज र १२ वर्ष माथिका बालबालिकालाई ६० लाख डोज फाइजर खोपका लागि पनि सकारात्मक रुपमा अघि बढिरहेको प्रवक्ता पौडेलले बताए। गाभी कोभ्याक्सबाट निःशुल्क २० प्रतिशत जनसंख्याका लागि प्राप्त हुने १ करोड १३ लाख डोज पनि क्रमशः प्राप्त हुँदै जाने भएकाले चैत मसान्तसम्म सम्पूर्ण नेपालीको पहुँचमा खोप पुग्ने मन्त्रालयको दाबी छ।