२०८३ बैशाख १९ गते , शनिबार

श्रीमतीको मिर्गौला प्रत्यारोपमा कानुनी अड्चन खेप्नुपरेपछि देवीचरण भण्डारीले यसरी पीडा पोखे

sajilo news
पार्थ मण्डल
२०७८ श्रावण २१ गते , विहीबार
श्रीमतीको मिर्गौला प्रत्यारोपमा कानुनी अड्चन खेप्नुपरेपछि देवीचरण भण्डारीले यसरी पीडा पोखे

झापा ।  मृगौला मानव शरीरको अति महत्वपूर्ण अंग हो । यसले शरीरको विषाक्त पदार्थ बाहिर निकाल्न सहयोग गर्छ । मृगौलाकै कारण हाम्रो शरीरमा रगतमा पानी, नुन तथा अन्य खनिजपदार्थलाई सन्तुलित बनाएर राख्छ ।

जब मृगौलाको कार्यक्षमता कम हुन्छ वा फेल हुन्छ, शरीरमा रहेको विषाक्त रासायनिक पदार्थ, तरल पदार्थ आदि बाहिर निस्कन पाउँदैन । मृगौलाको जटिल समस्या भनेको, यो खराब भएको अन्तिम अवस्थामा मात्र थाहा हुन्छ । साथै उपचार विधी पनि महंगो हुनेगर्छ । सरकारले मृगौला प्रत्यारोपण गर्ने कानुनी ब्यवस्थालाई फराकिलो नबनाउदाँ धेरैले मृगौला दान गर्ने ब्यक्ति भेटाएपनि नेपालमै प्रत्यारोपण गर्न पाएका छैन् । यस्तै झापाका देवीचरण भण्डारीले आफ्नी श्रीमतीको मिर्गौला प्रत्यारोपण कानुनी अड्चन खेप्नुपरेपछि सामाजिक सञ्जालमा निकै मार्मिक स्ट्याटस लेखेका छन् ।  उनी दिनरात श्रीमतीको हेरचहारमा लागेका छन् । 

उनै देवीचरण भण्डारीको स्टाटस यस्तो छ–

हाम्रो देशको नयाँ प्रत्यारोपण सम्वन्धी ब्यवस्था २०७२ का कारण लगभग ५–६ महिना देखिको दौडधूप, समय र पैसा सवै–सवै स्वाहा भएर म र मेरो परिवार निकै चिन्तित अवस्थामा रहेका छौँ यतिबेला।

गीताजीको दुवै मृगौला फेल भएका कारण गएको फागुन महिनादेखि हप्तामा दुईपटक हेमोडाईलोसिस हुँदै आएको छ । मेरा सहोदर कान्छा काका नृत्रपसाद भण्डारीले किडनी दान गर्ने हुनु भएर राष्ट्रिय मानव अंग प्रत्यारोपण केन्द्र भक्तपुरमा प्रकृया अघाडि बढाइयो। दाताको सवै परीक्षण सम्पन्न भयो र हिजो मिति २०७८–०४–२० गतेका दिन दाताको अन्तिम परीक्षणको नतिजा हेरेर डाक्टरले सवै कुरा ठीक छ। मृगौला प्रत्यारोपण गर्न मिल्छ।

अब कानुनी कागजातहरु केके चाहिन्छ त्यसका लागि काउन्सिलिङ् रुममा गएर सम्पर्क गर्नु भने पछि काउन्सिलिंग रुममा गएर सम्पर्क गर्दा काकाससुराले मृगौला दान गर्न कननूनले दिदैन। पहिले नै तपाईँहरुले बुझ्नु पर्दथ्यो भन्ने जवाफ दिएपछि हामी छाँगाबाट खसेको जस्तो भयौँ। विमारीको उत्साह, मनोवल र जीवन प्रतिको आशा निराशामा परिणत भयो।

गल्ति हामीबाट भयो कि अस्पताल पक्षबाट भयो, बुझ्न गाह्रो परिरहेको छ। मृगौला प्रत्यारोपण सम्वन्धी एेन कानून बनाउने निकायले बनाउँदा अलिक फराकिलो सोच राखेर बनाउनु पर्थ्यो कि सासू ससुराले मृगौला दान गर्न मिल्ने तर, काकाससुराले नमिल्ने कस्तो बिडम्वना हो यो ? अस्पताल पक्षले बेलैमा यो जानकारी गराएको भए सायद अहिले आएर निराश बन्नु पर्दैनथ्यो होला। समय,दौडधूप र लगानीको क्षतिपूर्ति कसले गर्ने ? हामी प्रशस्त धनसम्पति भएको परिवार हुँदै होइन। सामान्य जागिर खाएर जीवन धान्दै आएको परिवार हो।

२०७० सालदेखि मृगौलामा समस्या देखा परेर त्यहीबेला देखि उपचार चलिरहेको छ। लामो समयदेखिको उपचारलाई धान्न निकै सकश परिरहेको अवस्थामा अहिलेको यो समस्याले झन् मर्माहत बनाएको छ। मृगौला दिने दाता तयार भएर अन्तिम अवस्थामा कानूनी अडचनले गर्दा विमारीको ज्यान जानसक्ने अवस्थाको सिर्जना भएको छ। हामीलाई पर्न गएको यो समस्या भोली जो कोहीलाई पनि पर्न सक्छ। यस तर्फ सरकारको गम्भिररुपमा ध्यानआकर्षित हुनु जरुरी छ र सरोकारवाला जो कोहीले आवाज उठाउनु पर्छ जस्तो लाग्छ ।

आफनो देशमा कानुनी अडचनका कारण अब ऋणपान गरेर भएपनि मित्रराष्ट्र भारत जानू पर्ने वाध्यकारी अवस्थाको सिर्जना भएक‍ो छ। अबको हप्तादशदिन भित्र भारतको राजधानी नयाँ दिल्ली स्थित फोर्टिज हस्पिटल नोयेडा जाने तयारीमा लागेका छौँ हामी। आर्थिक व्ययभार कसरी धानिने हो थाहा छैन। पद प्रतिष्ठा र पहुँच हुनेलाई त यो समस्या नै हैन। राज्यले सवै खर्च बेहोरिदिँदो रहेछ।

यस कुराको जानकारी सवैलाई छ। हामी जस्ता सामान्य नागरिकलाई राज्यले चिन्ने होईन। हाम्रो आवाज पनि सुन्ने होईन। अनि नियम कानून लाग्ने पनि हामी जस्ता निरिहलाई नै हो । कमसेकम ऐन कानुन बनाउँदा अलिक फराकिलो सोच राखेर बनाई दिए पनि त हुन्थ्यो नि धिक्कार छ हामी सामान्य नागरिकको जिन्दगी। निरास त हामी भएका छौँ तर, जीवनप्रतिको अनुराग र आत्मविश्वास भने टुटाएका छैनौँ ,हेरौँ अगाडि के हुन्छ ।

सम्बन्धित समाचार