झापामा एम्बुलेन्स चालक कोरोना खोपबाट वञ्चित
झापा । शिवसताक्षी नगरपालिकामा कोरोनाविरुद्धको खोप लगाउने अभियानमा एम्बुलेन्स चालक नै खोपबाट वञ्चित भएका छन् ।
सतासीधाम स्वास्थ्य चौकीको खोप केन्द्रमा एम्बुलेन्स लिएर खोप लगाउन पुगेका शिवसताक्षी नगरपालिका-८ का दुर्गा खरेल जोनसन एन्ड जोनसन खोप बाट बिहीबार वञ्चित भए । ११ नम्बर वडाका वडा अध्यक्ष भैरव कुमार श्रेष्ठले खोप लगाउन रोकेको उनले बताए ।
दाहाल बन्धु सेवा समितिको मे १ ख १३३३ नम्बरको एम्बुलेन्सका चालक खरेलले नगरका कोरोना संक्रमित लाई घरबाट अस्पताल र अस्पतालबाट घर सम्म ल्याउने काम गरिरहेका छन् । कतिपय संक्रमित उपचारका लागि अस्पताल लैजाँदा लैजाँदै बाटोमै एम्बुलेन्स भित्र मृत्यु भएका पनि छन् । जोखिम मोलेर हामी चालक सेवा गर्ने अनि खोप चैँ नदिने ? यसअघिका खोप कार्यक्रममा बिरामी बोकेर भरतपुर चितवन गएकाले छुटेको उनले बताए । मैले सबै कुरा भन्दा पनि वडा अध्यक्ष ले पटक्कै मान्नु भएन,’ एम्बुलेन्सका चालक कोरोना महामारीको बेला अग्रपङ्क्तिमा काम गर्ने होइनन् ?' उनले भने । नेपाल सरकारले दिएको खोप अधिकार वडा अध्यक्षले खोसी दिँदा उनी बेचैन भएका छन् ।
दिउँसो १ बजे पुगेका उनी अपराह्न ४ बजे खोप नपाए पछि फर्किएका थिए । नगर स्तरीय कोरोना रोकथाम तथा व्यवस्थापन समितिको बैठकमा यसअघिका लक्ष्य वर्गका छुटेका स्वास्थ्यकर्मी, कर्मचारी र सुरक्षाकर्मीलाई व्यवहारिकता हेरि खोप लगाउन दिने अलिखित निर्णय भएको थियो ।
नगरपालिकाका प्रवक्ता नवीन इजमले महामारीका बेला अग्र पङ्क्तिमा काम गर्ने एम्बुलेन्स चालकलाई खोप नदिएको कुराले आफूलाई दुखी बनाएको बताए । उनले भने, यस्तो बेलामा स्वास्थ्य क्षेत्रको अग्र भागमा काम गर्ने जो कोहीलाई पनि व्यवहारिकता हेरि खोप लगाउन दिनुपर्छ ।’
‘खोप केन्द्रमा अन्य राजनीतिक दलका नेता कार्यकर्ता पनि थिए । स्वास्थ्यकर्मी पनि थिए । सबैले एम्बुलेन्स चालक लाई खोप दिन आग्रह गरिरहँदा वडा अध्यक्षले उमेर नपुगेको भन्दै रोके । वडा अध्यक्षले रोकेपछि स्वास्थ्यकर्मीले खोप लगाउनै मानेनन्, उनले भने ।
एम्बुलेन्स चालकले खोप नपाएपछि खोप हान्न गएका कतिपय ले वडा अध्यक्षको आलोचना समेत गरेका थिए । खोप केन्द्रमा भएका स्थानीयले भने, ‘बरु हामी लाउँदैनौँ, एम्बुलेन्स चालकलाई खोप देऊ ।’