उपचार खर्च तिर्न नसक्दा सिलिगुडीको हस्पिटलले चार महिने शिशुलाई बनायो बन्धक
झापा । भारतको पश्चिम बङ्गाल सिलिगुडीस्थित पारामाउन्ट हस्पिटल (नर्सिङ होम)ले उपचार खर्च तिर्न नसक्दा चार महिनाको शिशुलाई बन्धक बनाएको छ । मेचीनगर नगरपालिका –१० खयरडाँगीका चार महिनाका शिशु सुहान चौधरीलाई नर्सिङ होमले बन्धक बनाइएको हो । आन्द्रा दोब्रिएर बिरामी भएका सुहानलाई उपचारका लागि यही साउन १५ गते पारामाउन्ट हस्पिटल लगिएको थियो ।
हस्पिटलले उपचारमा भारु एक लाख लागेको बताउँदै चार दिनअघि शुल्क बुझाउन दवाव दिएको बालकका बुवा सनम चौधरीले बताए । आर्थिक अवस्था कम्जोर भएका चौधरी परिवारसँग आर्थिक स्रोत नभएपछि स्थानीयवासीले चन्दा उठाएर दिएको ५४ हजार रुपैयाँ बालकका बुवा सनमले अस्पतालमा लगेर बुझाएका थिए । अरु रकम बुझाउन नसकेको भन्दै शिशुकी आमालाई हस्पिटलमा राखेर परिवारका अरु सदस्यलाई पैसा खोज्न पठाइएको थियो ।
ऋण खोजेर थप एक लाख १५ हजार रुपैयाँ शनिबार लगेर बुझाउँदा हस्पिटल प्रशासनले बिल बढेको भन्दै अरु भारु ५० हजार रुपैयाँ नल्याएसम्म बच्चा लैजान नदिने बताएको छ । हस्पिटलले शनिबार शिशुलाई मात्र हस्पिटलमा राखेर आमालाई समेत पैसा खोज्न नेपाल फर्काइ दिएको सनमले बताए ।
चार महिनाको शिशुलाई पेट फुल्ने समस्या देखा परेपछि शुरुमा मेचीनगरकै शिखर हस्पिटलमा लगिएको थियो । त्यहाँबाट थप उपचारका लागि बिर्तामोडको अञ्जली हस्पिटल पुर्याइएको थियो । त्यहाँ पनि उपचार सम्भव नभएपछि धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान लगिएको थियो । प्रतिष्ठानका चिकित्सकले आन्द्रा दोब्रिएर पेट फुलेको जनाउँदै तुरुन्त शल्यक्रिया गर्नुपर्ने बताएका थिए ।
त्यसबेला धरानमा चिकित्सकको आन्दोलन चर्किरहेको हुँदा त्यहाँबाट अन्यत्र लैजान भनिएको शिशुकी आमा शर्मिलाले बताइन् । नेपालका अस्पताल डुलाउँदा डुलाउँदै बच्चाको स्वास्थ्य अवस्था नाजुक भएपछि बाध्य भएर भारतको सिलिगुडी पुर्याउनु परेको उनले जानकारी दिइन् । रासस