२०८३ बैशाख १९ गते , शनिबार

ज्येष्ठ नागरिकलाई घरमै गएर कोरोनाविरुद्धको खोप लगाउन सर्वोच्चको आदेश

sajilo news
पार्थ मण्डल
२०७८ श्रावण २९ गते , शुक्रबार
ज्येष्ठ नागरिकलाई घरमै गएर कोरोनाविरुद्धको खोप लगाउन सर्वोच्चको आदेश
झापा । सर्वोच्च अदालतले खोप केन्द्रसम्म आउन नसक्ने ज्येष्ठ नागरिकलाई घरमै गएर कोभिड–१९ विरुद्धको खोप लगाउन सरकारलाई आदेश दिएको छ । न्यायाधीश प्रकाश कुमार ढुङ्गानाको एकल इजलासले शुक्रवार खोप केन्द्रसम्म आउन नसक्ने ज्येष्ठ नागरिक, फरक क्षममा भएका, हिँडडुल गर्न नसक्ने, दृष्टिबिहिन लगायतलाई घरमै गएर खोप दिन आदेश दिएको हो ।

खोप लगाउन ज्येष्ठ नागरिक लाइनमा बस्न थालेपछि सरकारको आलोचना भएको थियो । खोप केन्द्रमा जान असमर्थ ज्येष्ठ नागरिक, बिस्तारामा रहेका हिँडडुल गर्न नसक्ने, अस्पतालले पहिचान गरेको दीर्घ रोगीहरू तथा फरक क्षमता भएका, दुवै आँखा नदेख्ने व्यक्तिहरू समेतका लागि राज्यले वडा स्तरबाट लगत सङ्कलन गरी उपयुक्त अन्य माध्यमबाट पहिचान गरी घरघरमा पुगी कोभिडको खोप सेवा उपलब्ध गराउन अदालतले आदेश दिएको छ ।

खोप केन्द्रसम्म पुग्न नसक्ने नागरिकहरूलाई घरघरमा गएर कोरोनाको खोप दिनुपर्ने माग गर्दै अधिवक्ता प्रवेश केसीले रिट दायर गरेका थिए । त्यसमा सुनुवाइका क्रममा इजलासले लोक कल्याणकारी राज्यको हैसियतले संविधानको धारा ३५ (३) ले प्रत्येक नागरिकलाई स्वास्थ्य सेवामा समान पहुँचको हक र धारा ४१ ले ज्येष्ठ नागरिकलाई राज्यबाट विशेष संरक्षण तथा सामाजिक सुरक्षाको हक हुने भनेर मौलिक हक सुरक्षित गरेको स्वीकार गरेको छ । सरकारले खोप कार्यक्रमलाई समेत प्रभावकारी बनाउनु पर्नेमा सरोकारवालाहरूले ध्यानाकर्षण गराएका छन् ।

सम्बन्धित समाचार