२०८३ बैशाख १९ गते , शनिबार

कोरोना उच्च जोखिममा झापा, सीसीएमसीको टोलीले गर्‍यो अनुगमन

नाकादेखि होल्डिङ सेन्टरसम्म अनुगमन, निषेधाज्ञा कडा बनाउन सुझाव

sajilo news
पार्थ मण्डल
२०७८ श्रावण २९ गते , शुक्रबार
कोरोना उच्च जोखिममा झापा, सीसीएमसीको टोलीले गर्‍यो अनुगमन

(पार्थ मण्डल) झापा । झापामा दैनिक कम्तीमा डेढ सयदेखि बढीमा साढे तीन सयसम्म दैनिक कोरोना संक्रमित थपिन थालेका छन्। जिल्ला सङ्क्रमणबाट मृत्यु हुनेको सङ्ख्या पनि ५ सय नाघिसकेको छ।  

जिल्लास्तरीय कोभिड– १९ सङ्कट व्यवस्थापन केन्द्र (डीसीएमसी) को बैठकले झापामा संक्रमणदर र मृत्युदर कम गर्न साउन ३२ गतेसम्म निषेधाज्ञा लगाएको छ। निषेधाज्ञा पालना नहुँदा जिल्लामा संक्रमणदर र मृत्युदरमा कमी आउन सकेको छैन। जिल्लामा संक्रमणदर र मृत्युदर नघटेपछि कोभिड–१९ संकट व्यवस्थापन केन्द्र सीसीएमसीको टोली शुक्रबार झापा आएको थियो।  जिल्ला प्रशासन कार्यालय झापामा सीसीएमसीको टोलीले डीसीएमसीका प्रतिनिधिहरूसँग जिल्लामा कोरोना संक्रमणको अवस्था बुझ्दै संक्रमण रोकथाम तथा नियन्त्रणको विषयमा छलफल गरेको झापाका प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिमिल्सिनाले जानकारी दिए।  

कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्र सीसीएमसीको प्रमुख पूर्व रथी बालानन्द शर्मा, नेपाल मेडिकल काउन्सिलका प्रमुख भगवान् कोइराला, सेनाका उपरथी अनन्त कार्की, सशस्त्र प्रहरीका एआइजी पुष्पराज केसी, सेनाका महासेनानी लक्ष्मण थापा, डा. प्रकाश बुढाथोकी लगायतका टोली आएका थिए। 


प्रमुख पूर्व रथी शर्मासहितको टोलीले जिल्लामा संक्रमणदर रोकथामका लागि कडाइका साथ लाग्न डीसीएमसीका प्रतिनिधिहरूलाई सुझाव दिएका थिए।  ‘झापा जिल्ला कोरोना संक्रमणको उच्च जोखिममा रहेकोले यसको रोकथाम तथा नियन्त्रण कसरी गर्न सकिन्छ भन्नेमा सीसीएमसीको टोलीसँग छलफल गरियो,’ प्रजिअ तिमिल्सिनाले भने, ‘जिल्लामा संक्रमणदर अझै घटेको छैन, विमानस्थल, राजमार्ग खुला हुँदा निषेधाज्ञा कडाइका साथ पालना गर्न समस्या भइरहेको विषयमा पनि जानकारी गरायौं।’

‘संक्रमणदर रोकथामका लागि विमानस्थल, राजमार्ग बन्द गराउनुपर्यो भने डीसीएमसीले गरेको निर्णयसहितको सिफारिस पठाउन सीसीएमसीको टोलीले सुझाव दिनुभयो,’ प्रजिअ तिमिल्सिनाले भने।  ‘सरकार अब स्मार्ट लकडाउनको तयारीमा जुटेको जानकारी पनि उहाँहरूले गराउनु भयो,’ उनले भने, ‘स्मार्ट लकडाउन कसरी लगाउने विषयमा पनि छलफल भयो, सीमा नाकाबाट नेपाल प्रवेश गर्नेलाई कसरी नियन्त्रण गर्ने, उपचार र खोपको अवस्था कस्तो छ भन्ने उहाँहरू सबै बुझेर जानुभयो।’ साथै छलफलमा जिल्लाको कोभिड उपचार, खोप व्यवस्थापनबारे रेडक्रस सोसाइटी झापा शाखाका सभापति लोकराज ढकाल, मेची अस्पतालका मेसु डा टंकप्रसाद बाह्रकोटीले जानकारी गराएका थिए। 


छलफलपछि सीसीएमसीका प्रमुख पूर्व रथी शर्मासहित आएको टोलीले मुख्य सीमा नाका काँकडभिट्टा, ज्यामिरगढीमा बन्दै गरेको एक हजार क्षमताको होल्डिङ्ग सेन्टरको स्थलगत अनुगमन गरेका थिए। होल्डिङ्ग सेन्टर निर्माण पश्चात् यसको सञ्चालन तथा व्यवस्थापनको जिम्मेवारी कसले गर्ने भन्ने विषयमा कुरा उठेको थियो। सो बारेमा नयाँ श्रीनाथ गण चारआलीका प्रमुख सेनानी अमर जङ्ग थापाले जानकारी गराएका थिए। सीसीएमसीका टोली आजै दिउँसो काठमाडौँ फर्किसकेको जनाएको छ।   

सम्बन्धित समाचार