मेचीनगरमा काँग्रेसको निर्णय उल्टिएपछि पाण्डेले भने- 'पावर लगाएर टिकट खोस्ने काम भयो'
नेपाली काँग्रेसबाट मेचीनगर नगरपालिकाको प्रमुखमा इन्द्रबहादुर बुढाथोकीले उम्मेदवारी दर्ता गराएका छन् । सोमबार नै प्रदेश समितिको निर्णयलाई उल्ट्याउँदै काँग्रेस केन्द्रीय संसदीय बोर्डले बुढाथोकीलाई मेचीनगरको प्रमुखको उम्मेदवार बनाउने निर्णय गरेको थियो ।
प्रदेश संसदीय समितिले जिल्ला उपसभापति केशवराज पाण्डेलाई दिएको टिकट खोसेर बुढाथोकी काँग्रेसको आधिकारिक उम्मेदवार भएको सभापति शेरबहादुर देउवाले प्रमाणित गरेका हुन् । महामन्त्री विश्वप्रकाश शर्माको गृह नगर समेत रहेको मेचीनगरको प्रमुखको टिकट प्रदेश समितिले जिल्ला उपसभापति केशवराज पाण्डेलाई दिएको थियो ।
नेता कृष्णप्रसाद सिटौला निकट पाण्डेलाई प्रदेश संसदीय बोर्डले टिकट दिएपछि केन्द्रीय महामन्त्री विश्वप्रकाश शर्माको हस्तक्षेपमा बुढाथोकीलाई उम्मेदवार बनाइएको छ । सिटौला निकट काँग्रेस प्रदेश–१ का सभापति उद्धव थापाले पाण्डेलाई दिएको टिकट महामन्त्री शर्माले केन्द्रबाट खोसिएको अवस्था छ ।
मेचीनगर प्रमुखको टिकट खोसिएपछि पाण्डेले असन्तुष्टि व्यक्त गरेका छन् । उनले पावरका भरमा टिकट दिएको भन्दै उनले गुनासो गरेका हुन् । ‘पहुँच र पावरको भरमा टिकट दिनु गलत छ,’ सञ्चारकर्मीसँग पाण्डेले भने, ‘यस्तो दोहोरो निर्णयले पार्टीलाई फाइदा गर्दैन ।’