बिर्तामोडमा राप्रपाको ३४ बुँदे घोषणा पत्र सार्वजनिक
राष्ट्रिय प्रजातन्त्र पार्टी बिर्तामोडले आसन्न स्थानीय तहको निर्वाचनलाई लक्षित गर्दै नगरको विकासका लागि ३४ बुँदे घोषणा पत्र सार्वजनिक गरेको छ ।
शुक्रवार पत्रकार सम्मेलनको आयोजना गर्दै नगरको नेतृत्व राप्रपाले लिएसँगै भ्रष्टाचार मुक्त स्थानीय तह निर्माणका लागि छिटो छरितो सेवा प्रवाह गर्ने, विपन्नको पहिचान गर्ने र ६ महिना भित्र स्थानीय ऐन निर्माण गर्ने , कक्षा १२ सम्मलाई निःशुल्क शिक्षा प्रदान गर्ने लगायत लगायतका प्रतिबद्धता पत्र सार्वजनिक गरेको हो ।
नगरमा आफ्नो उपस्थिति बलियो रहेको र जिल्लामा समेत सबै पालिकामा राप्रपाले उम्मेदवारी दिएको प्रतिबद्धता पत्र सार्वजनिक समारोहमा पार्टीका जिल्ला अध्यक्ष केशव ओझाले बताए । बिर्तामोडमा नगर प्रमुखमा ध्रुव सिवाकोटी र उपप्रमुखमा रञ्जु प्याकुरेलसहितको उम्मेदवारी रहेकाले उनीहरू नेतृत्वमा आएसँगै बिर्तामोड नगरको मुहार फेर्न लागि पर्ने अध्यक्ष ओझाले बताए । राप्रपाले सार्वजनिक गरेको प्रतिबद्धता पत्रमा सबै नागरिकलाई अनिवार्य स्वास्थ्य बिमा गराइने, हरेक वडामा निःशुल्क र गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्ने हिंसामा परेका महिला तथा बालबालिकाका लागि सेफ हाउस स्थापना गर्ने लगायत रहेका छन् ।