चर्चा र प्रतिस्पर्धामा भद्रपुरको वडा नम्बर ५ र ६
मुलुककै पुरानो र झापा जिल्लाकै जेठा अनि सदरमुकाम रहेको भद्रपुर नगरपालिकाको १० वटा वडामध्ये चर्चा र प्रतिस्पर्धामा भद्रपुर वडा नम्बर ५ र ६ रहेको छ । भौगोलिक, सामाजिक, आर्थिक, राजनीतिक, व्यावसायिक, प्रशासनिक, ऐतिहासिक लगायत हरेक क्षेत्रले अन्य वडा भन्दा महत्त्वपूर्ण रहेको यी दुई वडामा यही बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा पनि अन्य वडा भन्दा बढी चर्चा र प्रतिस्पर्धा हुनु स्वाभाविक पनि हो ।
पहिले चर्चा गरौँ ५ नं. वडाको–छिमेकी मुलुक भारतको बङ्गाल र बिहार राज्यको सिमाना जोडिएको, नेपाल–भारत जोड्ने मेची पुल भएको, भद्रपुर भन्सार, २ वटा चिया उद्योग, प्लाइउड उद्योग, निजी २ वटा र ३ वटा सरकारी विद्यालय, बस पार्क, वधशाला, पुरानो बजार, गौशाला, आधा दर्जन बैङ्कहरू, २ वटा आँखा उपचार केन्द्र रहेको ५ नं. वडामा भद्रपुरका ठुला उद्योगी–व्यवसायीहरूको समेत बसोबास रहेको छ ।
गत २०७४ सालको निर्वाचनमा वडामा सबै नेपाली काँग्रेसका उम्मेदवारले धेरै फरक मतान्तरले जितेका थिए । वडा अध्यक्षमा बन्धु कार्की, खुल्ला सदस्यमा रिता दाहाल र दीपक राजवंशी, महिला सदस्यमा लता चापागाईँ र दलित महिला सदस्यमा मञ्जु देवी अघोरी विजयी भई ५ वर्षे कार्यकाल सफलताका साथ सम्पन्न गरेका छन् ।
यही आउँदो बैशाख ३० गते हुन गइरहेको निर्वाचनमा पनि काँग्रेस–माओवादी गठबन्धनको नेतृत्व गर्दै पुनः बन्धु कार्की वडा अध्यक्षमा आफ्नो विरासत कायम राख्न जोड बल गरिरहेका छन् । काङ्ग्रेसबाट दलित महिला सदस्यमा पुरानै मञ्जु देवी अघोरी, महिला सदस्यमा ललिता ठाकुर, खुल्ला सदस्यमा नारद राजवंशी र अर्का खुल्ला सदस्यमा माओवादीबाट बुद्धिमान लिम्बुलाई लिएर वडामा फेरि ५ वर्ष राज गर्ने तयारीका साथ कार्की लागि परेका छन् ।
५ नं. वडाका अर्का प्रतिस्पर्धी हुन राष्ट्रिय प्रजातन्त्र पार्टीका वडा अध्यक्षका उम्मेदवार देवकुमार घिमिरे । २०७४ सालको निर्वाचनमा तिनै बन्धु कार्कीको निकटतम प्रतिस्पर्धी घिमिरे यस पटक कुनै पनि हालतमा विगतको पराजयलाई विजयमा परिणत गर्ने ध्याउन्नमा लागि परेका छन् । पार्टीको साङ्गठनिक सुदृढीकरण र राप्रपाप्रतिको लहर एवम् स्थानीय मतदाता पकडवाला केही व्यक्तिको पार्टी प्रवेशले ५ नं. वडामा राप्रपाको प्रतिस्पर्धालाई कम आँक्न सकिन्न । वडा अध्यक्षका उम्मेदवार घिमिरेले खुल्ला सदस्यमा जेष्ठमल ठाकुर र रोहित यादव, महिला सदस्यमा गीता मेचे र दलित महिला सदस्यमा चन्द्रकला भुसाल समेतको टिम लिएर उम्मेदवारी दिएका छन् ।
२०७४ सालको निर्वाचनमा २८५९ मत खस्दा ३६८ मत मात्र प्राप्त गरेको नेकपा एमाले पनि २०७४ का वडा अध्यक्षका उम्मेदवार गणेश अधिकारीलाई साइड लगाएर रेवतीरमण खनालको नेतृत्वमा प्रतिस्पर्धा गरिरहेको । खुल्ला सदस्य मदन राय र शुकदेव सहनी, महिला सदस्य जानुकादेवी खतिवडा र दलित महिला सदस्य गोमा दर्जी सहितको एमालेका एमालेको वडाका उम्मेदवारहरू आफ्नो जित सुनिश्चित रहेको दाबी गरिरहेका छन् ।
त्यसै गरी ५ नं. वडाबाट जनता समाजवादी पार्टी, नेपालको तर्फबाट विकास कुमार गुप्ता एक जना सदस्य दिनेश ठाकुरलाई साथमा लिएर चुनावी प्रतिस्पर्धामा भिडेका छन् । मधेसी समुदायको मत आफ्नो पक्षमा रहेको दाबी गर्ने गुप्ता हार जितको परिणाम जे भए पनि ५ नं. वडामा राम्रो प्रतिस्पर्धामा आफू रहेको बताउँछन् ।
त्यसै गरी ५ नं. वडाका अर्का उम्मेदवार राष्ट्रिय जनमुक्ति पार्टीका बुच्चा राजवंशी हुन् । खुल्ला सदस्य सावित्री राई र महिला सदस्य उर्मिला सहनीको उम्मेदवारी दिएको राजपाले भने आफ्नो उपस्थिति मात्र जनाएको छ ।
अब चर्चा गरौँ ६ नं. वडाको, ६ नं. वडा भद्रपुर नगरकै मुटुमा रहेको सबैभन्दा महत्त्वपूर्ण वडा हो । ६ नं. वडालाई नगरकै सदरमुकाम वडा भन्दा पनि हुन्छ । नगरकै प्रमुख प्रशासनिक कार्यालय रहेको, नेपाल टेलिकम, जिल्लाकै स्वास्थ्य कार्यालय, जिल्लाकै पशु स्वास्थ्य कार्यालय, नगरकै एक मात्र पशु हाट, ठुला ४ वटा चिया उद्योग, प्लास्टिक उद्योग, ग्यास उद्योग, दाना उद्योग, चामल मिल, कार्टुन उद्योग, साबुन उद्योग, २ वटा सरकारी र ४ वटा निजी विद्यालय लगायत आर्थिक रूपले सम्पन्न र सबैभन्दा बढी राजश्व सङ्कलन हुने वडा हो । शिक्षित र आर्थिक रुपमा सम्पन्न मतदाताहरूको बसोबास रहेको ६ नं. वडा आर्थिक, सामाजिक, राजनीतिक र भौतिक सबै प्रकारले सम्पन्न वडा पनि हो ६ नं. वडा ।
त्यसैले अन्य वडामा भन्दा ६ नं. वडामा बढी चलखेल, दाउ पेचकाबीच चुनावी प्रतिस्पर्धा भइरहेको । अन्य समयमा भन्दा यस पटकको निर्वाचनमा अलि बढी चर्चा र प्रतिस्पर्धा किन पनि भएको छ भने अन्य वडाको भन्दा यस वडाको यस पटकको घटना अलि फरक छ । सत्ता गठबन्धन दलहरूबिचको लामो छलफलपछि सहमति नभएर बाहिरिएको जनता समाजवादी पार्टीको उम्मेदवारी, २०७४ सालमा मधेसी जनअधिकार फोरमबाट वडा अध्यक्षका उम्मेदवारी दिएर प्रतिस्पर्धामा आएका राजेश गुप्ताको स्वतन्त्रबाट उम्मेदवारी, एमालेको आन्तरिक उम्मेदवारी छनौटमा १, २, ३ नम्बरकाले उम्मेदवारी नपाई ४ नम्बरले वडा अध्यक्षको उम्मेदवारी पाएको, २०७४ सालमा पराजित नेपाली काँग्रेसका उम्मेदवारलाई पुनः यस पटक पनि काँग्रेस–माओवादी–एकीकृत समाजवादी गठबन्धनको तर्फबाट वडा अध्यक्षको उम्मेदवार बनाइनु, बङ्गाली, मुस्लिम, मारवाडी समुदायलाई दलहरूले गरेको उपेक्षा । यिनै कारणले गर्दा यस पटकको वडा नं.६ को निर्वाचन चर्चा र प्रतिस्पर्धा अलि बढी छ ।
काँग्रेस–माओवादी–एकीकृत समाजवादी गठबन्धनको तर्फबाट वडा अध्यक्षको उम्मेदवारमा रतिया राजवंशी, खुल्ला वडा सदस्यमा कुशहरि बन्जारा (माओवादी), यदुनन्दन साह रौनियार (काँग्रेस) , महिला वडा सदस्य सीता राजवंशी (माओवादी) र दलित महिला सदस्य रेखादेवी साफी (काँग्रेस)ले ६ नं. वडाबाट उम्मेदवारी दिएका छन् । राजवंशी २०७४ सालमा पनि नेपाली कांग्रेसकोतर्फबाट वडा अध्यक्षको उम्मेदवारी दिएर जम्मा खसेको मत ३२५२ मा ६७१ मत ल्याएका थिए । ६९ मतले मात्र प्रेमबहादुर बरुवालसँग पराजित भएका राजवंशी यस पटक गठबन्धनसँगै आफ्नो जित सुनिश्चित रहेकोमा ढुक्क छन् । तर, एमालेको पनि वडा अध्यक्षमा राजवंशी नै उम्मेदवार बनाएपछि २०७४ कै घटना त दोहरिँदैन भन्ने आशङ्का भने राजवंशीमा देखिन्छ ।
नेकपा एमालेले पनि २०७४ सालकै विरासत कायम राख्न प्रयासरत छ । गठबन्धनले ६ नं. वडाबाट राजवंशी उम्मेदवार बनाएसँगै एमालेले पनि राजवंशी नै उम्मेदवार बनाएको छ । पार्टीको आन्तरिक उम्मेदवार छनौटमा १ नम्बरमा प्रेमबहादुर बरुवाल, २ नम्बरमा प्रकाश शर्मा, ३ नम्बरमा किरण कार्कीको नाम सिफारिस गरे पनि ३ जनाबीचको आपसी तुषका कारण ४ नम्बरका सहतलाल राजवंशीलाई वडा अध्यक्ष उम्मेदवारको चिट्ठा परेको छ । वडावासीमा राम्ररी परिचित समेत नभएका राजवंशीको जित भन्दा पनि गठबन्धनको वडा अध्यक्षको उम्मेदवारलाई पराजित गर्ने रणनीति बुझिन्छ । एमालेले ६ नं. वडाबाट खुल्ला सदस्यमा प्रकाश शर्मा, दिलीप माझी, महिला सदस्यमा सन्ध्या कुमारी डंगोल, दलित महिला सदस्यमा विभा पासवानलाई उम्मेदवार बनाएको छ । शर्मा र पासवान २०७४ मा पनि वडा सदस्यमा निर्वाचित भएका थिए । महिला सदस्य डंगोल २०७४ सालमा काँग्रेसका उम्मेदवार शिला भट्टराई बरालसँग ६ मतले पराजित भएकी थिइन् ।
त्यसैगरी ६ नं. वडाका अर्का प्रतिस्पर्धीको रुपमा देखिएको भनेको जनता समाजवादी पार्टीको उम्मेदवार शत्रुधन चौधरी हुन् । सत्ता गठबन्धनमा रहेको जनता समाजवादी पार्टी, नेपाल भद्रपुरमा गठबन्धनबाट बाहिरियो । कारण ६ नं. वडाको अध्यक्ष पदको उम्मेदवार नेपाली कांग्रेसले नछाड्ने भएपछि । जसपाले एउटै मात्र जित्ने सम्भावना रहेको ६ नं. वडा नपाएपछि गठबन्धनबाट बाहिरिएको हो । गठबन्धन बिना नै जितेर देखाउने उद्घोषका साथ चौधरीले खुल्ला सदस्यमा ममता जोधानी र महेश कामती, महिला सदस्यमा पार्वती राजवंशी र दलित महिला सदस्यमा प्रमीला विश्वकर्मा सुनुवार सहितको उम्मेदवारी दर्ता गरेका छन् । चौधरी २०७४ सालको निर्वाचनमा भद्रपुरकै नगरप्रमुख पदमा उम्मेदवारी दिएर ३२६ मत प्राप्त गरेका थिए । उनी जनता समाजवादी पार्टीको भद्रपुर नगर अध्यक्ष समेत हुन् । खुल्ला सदस्य महेश कामती पनि ०७४ सालको निर्वाचनमा मधेसी जनअधिकार फोरम, मधेसबाट ६ नं. वडाकै अध्यक्ष पदमा उम्मेदवारी दिएर १४१ मत मात्र प्राप्त गरेका थिए ।
त्यसै गरी २०७४ सालमा मधेसी जनअधिकार फोरम, नेपाल (जुन अहिले जनता समाजवादी पार्टी, नेपाल भएको छ)बाट ६ नं. वडा अध्यक्षको उम्मेदवार हुँदा ४०० मत ल्याएर तेस्रो स्थानमा रहेका राजेशप्रसाद गुप्तालाई यस पटक पार्टीले पाखा लगाएपछि गुप्ताले स्वतन्त्रबाट वडा अध्यक्षको उम्मेदवारी दिएका छन् । गुप्ताले जसपा र काँग्रेसको मतमा दक्खल दिने देखिन्छ । दलबाट आजित भएका स्वतन्त्र नागरिकले गुप्तालाई साथ समर्थन गर्ने सम्भावना देखिन्छ ।
त्यस्तै राष्ट्रिय प्रजातन्त्र पार्टीका ढकबहादुर बिस्टको नेतृत्वमा खुल्ला सदस्यमा जयसिंह राजवंशी र सुबोध झा, महिला सदस्यमा उमा गौतम र दलित महिला सदस्यमा लक्ष्मी साफीको ६ नं.बाट उम्मेदवारी परेको छ । त्यसैगरी राष्ट्रिय जनमुक्ति पार्टीबाट वडा अध्यक्ष पदमा महेशलाल सिंह रहेका छन् ।