२०८३ बैशाख ३१ गते , विहीबार

भद्रपुरको मेयरमा गठबन्धनबाट काँग्रेसका पोखरेल र उपमेयरमा राप्रपाकी कार्की विजयी

sajilo news
पार्थ मण्डल
२०७९ जेष्ठ ५ गते , विहीबार
भद्रपुरको मेयरमा गठबन्धनबाट काँग्रेसका पोखरेल र उपमेयरमा राप्रपाकी कार्की विजयी

झापा । गठबन्धनबाट नेपाली काँग्रेसका उम्मेदवार गणेश पोखरेल भद्रपुर नगरपालिकाको मेयरमा निर्वाचित भएका छन् ।  उपमेयरमा गठबन्धनका उम्मेदवारलाई पछि पार्दै राप्रपाकी राधा कार्की निर्वाचित भएकी छिन् । 
गठबन्धनका निकटतम प्रतिस्पर्धी नेकपा (एमाले)बाट मेयरका उम्मेदवार असारु राजवंशीलाई २ हजार ७६६ मतान्तरले पराजित गर्दै काँग्रेसका पोखरेल निर्वाचित भएका हुन् । भद्रपुरमा काँग्रेसले मेयर जितेर यसपल्ट इतिहास रचेको छ । पोखरेलले १२ हजार ५२५ मत ल्याउँदा राजवंशीले ९ हजार ७५९ मत ल्याएका छन् । 
त्यस्तै राप्रपाका नवराज पनेरुले ६ हजार ३१०, राष्ट्रिय जनमुक्ति पार्टीका याम बहादुर लिम्बु ६०८, जनता समाजवादी पार्टीका समर कुमार राई ३६१ , मंगोल नेशनल अर्गनाइजेसनका  इन्द्र कुमार सुहाङ ३०० , संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका विष्णु कर्मकार ३४, मौलिक जरोकिलो पार्टीका चूडामणि अधिकारी ३१ मत ल्याएका छन् । 
त्यसैगरी राप्रपाले पनि भद्रपुरमा इतिहास रच्दै उपमेयरमा बाजी मारेको छ । काँग्रेस र एकीकृत समाजवादी गठबन्धनबाट माओवादीका उम्मेदवार शिवकुमार राजभण्डारीलाई ६९७ मतान्तरले पराजित गर्दै राप्रपाकी कार्कीले निर्वाचित भएकी छिन् । कार्कीले ९ हजार २३० मत ल्याउँदा राजभण्डारीले ८ हजार ५३३ मत ल्याएका छन् । उपमेयरमा १ देखि ६ नम्बर वडाको मतगणनासम्म गठबन्धनका राजभण्डारी अगाडि थिए । ७ नम्बरको मतगणनापछि कार्कीले अग्रता लिइन् । ८ नम्बरमा पुनः राजभण्डारीले अग्रता लिएपनि वडा नम्बर ९ र १० को मत परिणामले राजभण्डारीलाई पछि पार्दै कार्की विजयी भएकी हुन् । त्यस्तै नेकपा एमालेकी कौशिल्या अधिकारी ८ हजार ४०३, जनता समाजवादी पार्टीका नूतन झा ४३०, मंगोल नेशनल अर्गनाइजेसनकाकी यम कुमारी लिम्बु ३३६ , राष्ट्रिय जनमुक्ति पार्टीकी मञ्जु बर्मा ४३१ र मौलिक जरोकिलो पार्टीकी कृष्ण देवी चुँडाल ओली ३८ मत ल्याएका छन् । यता नगरको वडामा रोचक परिणाम आएको छ । वडा १ मा एमालेको प्यानलसहित वडा अध्यक्षमा रामप्रसाद अधिकारी निर्वाचित भएका । वडा २ मा काँग्रेसका रामप्रसाद कँडेल वडा अध्यक्ष निर्वाचित भएका छन् । वडा ३ मा राप्रपाका प्यानलसहित वडा अध्यक्षमा हेम बहादुर कार्की निर्वाचित भएका छन् । वडा ४ मा माओवादीका हंशधर राजवंशी वडा अध्यक्ष निर्वाचित भएका छन् । वडा ५ मा काँग्रेसका बन्धु कार्की वडा अध्यक्षमा निर्वाचित भएका छन् । वडा ६ मा काँग्रेसकै रतिया राजवंशी वडा अध्यक्षमा निर्वाचित भएका छन् । वडा ७ मा राप्रपाका अभिषेक ढुंगाना वडा अध्यक्षमा निर्वाचित भएका छन् । वडा ८ मा काँग्रेसका  गौरव सुब्बा वडा अध्यक्षमा निर्वाचित भएका छन् । वडा ९ मा एमालेको प्यानलसहित वडा अध्यक्षमा रामप्रसाद दाहाल निर्वाचित भएका छन् । वडा १० मा एमालेका टेकबहादुर खडका वडा अध्यक्षमा निर्वाचित भएका छन् । 
 

सम्बन्धित समाचार