२०८३ बैशाख ३१ गते , विहीबार

स्थानीय तहको ८० प्रतिशत मत परिणाम आइसक्यो : आयोग

sajilo news
झापा
२०७९ जेष्ठ ५ गते , विहीबार
स्थानीय तहको ८० प्रतिशत मत परिणाम आइसक्यो : आयोग

निर्वाचन आयोगले स्थानीय तह निर्वाचनको ८० प्रतिशत मत परिणाम आइसकेको बताएको छ। आयोगले बिहीबार गरेको नियमित पत्रकार सम्मेलनमा बोल्दै आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले ८० प्रतिशत स्थानीय तहको मत परिणाम आइसकेको बताएका हुन्। 

उनले हालसम्म ५७० स्थानीय तहको निर्वाचन परिणाम आइसकेको बताए। जसमध्ये प्रमुखमा १७४, उपप्रमुखमा १७४, अध्यक्षमा ३९६, उपाध्यक्षमा ३९६, वडाअध्यक्षमा ५ हजार ६५९, महिला सदस्यमा ५ हजार ६५३, दलित महिला सदस्यमा ५ हजार ५५६ र वडा सदस्यमा १ हजार २९५ गरी कुल २९ हजार ३०३ जना उम्मेदवार निर्वाचित भइसकेको बताए। 

उनले भने, ‘हालसम्म ५७० स्थानीय तहको निर्वाचन परिणाम निर्वाचन आयोगको प्रणालीमा प्रविष्ट भइसकेको छ। प्रमुखमा १७४, उपप्रमुखमा १७४, अध्यक्षमा ३९६, उपाध्यक्षमा ३९६, वडाअध्यक्षमा ५ हजार ६५९, महिला सदस्य ५ हजार ६५३, दलित महिला सदस्य ५ हजार ५५६ र वडा सदस्य १ हजार २९५ गरी कुल २९ हजार ३०३ जना उम्मेदवार निर्वाचित भइसकेका छन्। ३५ हजार २२१ कुल पदाधिकारी निर्वाचित हुनुपर्नेमा करिब ८० प्रतिशतको परिणाम आइसकेको छ।’

बैशाख ३० गते स्थगित भएको अछामको साँफेबगरमा जेठ ६ गते पुनः मतदान हुने कार्यक्रम रहेको उनको भनाइ छ। त्यसैगरी उदयपुरको त्रियुगा नगरपालिका वडा नं। १२ र बाजुरा जिल्ला बुढीगंगा नगरपालिकाको सम्बन्धमा आयोगबाट निर्णय हुन बाँकी रहेको बताए। 

पुनः मतदान भएका मतदान केन्द्रको हकमा मत पेटिका प्राप्त भएको बढीमा ४ दिनभित्र मत गणना कार्य सम्पन्न हुने बताए। आयोगले निर्वाचनको क्रममा मतदान स्थलमा कानून विपरित गतिविधिमा संलग्नलाई पक्राउ गरी कारबाही गर्न देशभरका प्रहरी कार्यालयलाई निर्देशन दिएको समेत बताए। 

सम्बन्धित समाचार