गौरादहमा एक मतको हारजितले लफडा, मतगणना प्रभावित
झापा । झापाको गौरादह नगरपालिकामा २४ घण्टादेखि मतगणना प्रभावित बनेको छ। नेपाली कांग्रेसले वडा नम्बर ७ को मतगणना पुनः हुनुपर्ने माग राख्दै विरोधमा उत्रिएपछि गौरादहको मतगणना बिहीबार रातिदेखि प्रभावित बनेको हो।
गौरादह वडा नम्बर ७ को वडा अध्यक्षमा एमालेका उम्मेदवार बलराम खरेलले एक मतले जितेका छन्। तर, कांग्रेसका उम्मेदवार दिलनाथ कटुवाललाई एक मतको पराजय स्वीकार छैन। कटुवालले निर्वाचन अधिकृतको कार्यालयमा पुनः मतगणना गर्नुपर्ने मागसहित निवेदन दिएपछि गौरादहमा लफडा सुरु भएको हो।
७ नम्बरको मतगणना सकिएपछि निर्वाचन अधिकृतको कार्यालयले १०२० मत ल्याएर एमालेका खरेललाई विजयी घोषणा गरी निर्वाचन आयोगको सिस्टममा हालिसकेको छ।
कर्मचारीले आयोगको सिस्टममा विवरण हालिसकेपछि मतगणनामा असन्तुष्ट जनाउँदै कांग्रेसका उम्मेदवार कटुवालले निर्वाचन अधिकृतको कार्यालयमा निवेदन दिएको जिल्ला निर्वाचन कार्यालय झापाका प्रमुख तुलसी नेपालले जानकारी दिए।
अधिकृतको कार्यालयमा निवेदन परे लगत्तै निर्वाचन आयोगलाई लिखित रूपमै जानकारी गरायौँ, प्रमुख नेपालले भने, ‘आयोगले तत्काल पुनः मतगणना गर्न कानूनी अड्चन रहेकोले त्यो गर्न नपाउने जानकारी गरायो।’, ‘आयोगले त्यसो भनेपछि पुनः मतगणना गर्न सकिने अवस्था रहेन, मतगणना सुचारुका लागि त्यहाँका स्थानीय दलहरूसँग शुक्रबार दिनभर छलफल गर्दा पनि समाधानको बाटो निस्किएनु, उनले भने।
अब भोलि शनिवार जिल्लास्तरीय राजनीतिक दलहरूसँग छलफल गरी समाधानको बाटो निकाल्ने प्रयास गर्ने छौँ। असन्तुष्ट पक्ष कानूनी उपचारका लागि अदालत जान पाउने पर्ने बाटो चाहीँ खुला रहेको उनको भनाई छ।
यता कांग्रेस कार्यकर्ताले मतगणना स्थलमा शुक्रबार नाराबाजी पनि गरेका छन्। उपविजेता बनेका कटुवालले १ हजार १९ मत ल्याएका छन्। त्यस्तै सोही वडाको दलित महिला सदस्य पदका लागि पनि एक मतले हार जित भएको छ। कांग्रेसकी धनकुमारी विश्वकर्माले १०७५ मतले विजयी हाँसिल गर्दा एमालेकी तारादेवी दर्जीले १०७४ मत ल्याएर पराजय भोगिन्।