गौरीगञ्जको दुवै प्रमुख पदमा महिला निर्वाचित, काँग्रेसबाट अध्यक्षमा राजवंशी र एमालेबाट उपाध्यक्षमा न्यौपाने
झापा । गौरीगञ्ज गाउँपालिकाको प्रमुख पदमा दुवै जना महिला निर्वाचित भएका छन् । गाउँपालिकाको अध्यक्षमा नेपाली काँग्रेसकी फुलवति राजवंशी र उपाध्यक्षमा नेकपा (एमाले)की पूजन न्यौपाने (कूवर) निर्वाचित भएकी छिन् । राजवंशीले निकटतम प्रतिस्पर्धी एमालेका विजय कुमार अग्रवाल र निवर्तमान गाउँपालिका अध्यक्ष राप्रपाका बाबुराजा श्रेष्ठलाई पराजित गरेका हुन् । राजवंशीले ५ हजार ६८९ मत ल्याउँदा अग्रवालले ३ हजार ३३० र श्रेष्ठले ३ हजार ३०७ मत ल्याएका छन् ।
अध्यक्ष पदका उम्मेदवार माओवादी केन्द्रकी मेनुका राजवंशीले १ हजार ३३६, जसपाका घनश्याम रिजालले ६४९, जनमत पार्टीकी कौशिला देवी महतोले ५३१ र एकीकृत समाजवादीका भूप नारायण राजवंशी १३ मत ल्याएका छन् । त्यस्तै गाउँपालिकाको उपाध्यक्षमा एमालेकी न्यौपानेले निकटतम प्रतिस्पर्धी काँग्रेसका मखना महतोलाई पराजित गरेका हुन् । न्यौपानेले ४ हजार ७५५ मत ल्याउँदा महतोले ३ हजार ७९५ मत ल्याएका छन् ।
माओवादीका विद्यानन्दसिंह राजवंशीले ३ हजार ३५१, राप्रपाकी रानी सोरेनले १ हजार ६९२, जनमत पार्टीका गोपाल प्रसाद गिरीले ५३८, स्वतन्त्रका जयचन्द्र रायले ९४, जसपाका मन्नीदेवी पासवानले ९२ र स्वतन्त्र सुजन थापाले ३१ मत ल्याएका छन् ।
त्यसैगरी गाउँपालिका वडा नम्बर १ मा वडा अध्यक्ष पदका लागि पुनः मतगणना भइरहेको छ । वडा १ मा काँग्रेसका पर्शुराम काफले र एमालेका कार्तिकलाल राजवंशीको मत बराबरी आएकोले पुनः गणना भइरहेको जनाइएको छ । वडा २ मा माओवादीका किनालाल राजवंशी, वडा ३ मा एमालेका श्रवण गिरी, वडा ४ मा एमालेका फेका प्रसाद गिरी, वडा ५ मा एमालेका विजय प्रसाद सिंह र वडा ६ मा काँग्रेसका बद्री नारायण यादव वडा अध्यक्षमा निर्वाचित भएका छन् । गौरीगञ्जमा गठबन्धन नगरी सबै दल एक्ला एक्लै चुनावी मैदानमा उत्रिएका थिए ।