बिर्तामोडकी मेयर महताराले गरिन यस्तो निर्णय
बिर्तामोड नगरपालिकामा नवनिर्वाचित जनप्रतिनिधिले पदभार ग्रहण गरेका छन् । सोमबार शपथ ग्रहणपछि जनप्रतिनिधिहरूले औपचारिक रुपमा पदभार ग्रहण गरेका हुन् । नगरपालिकाको कार्यालयमा आयोजना गरिएको शपथग्रहण तथा पद बहाली कार्यक्रममा नगरप्रमुख पवित्रा महतारा प्रसाईँले उपप्रमुख नगेन्द्रप्रसाद सङ्ग्रौलासहित नवनिर्वाचित ५१ जना जनप्रतिनिधिहरूलाई पद तथा गोपनीयताको शपथ गराएकी थिइन् ।
यसअघि नगरप्रमुख प्रसाईँले झापा जिल्ला अदालतका न्यायाधीश तथा मुख्य निर्वाचन अधिकृत गिरीराज गौतमबाट पद तथा गोपनीयताको शपथ लिएकी थिइन् ।शपथ ग्रहणपछि नगरप्रमुख प्रसाईँ,उपप्रमुख सङ्ग्रौलासहित वडाध्यक्षहरूले पदभार ग्रहण गरेका छन् । पदभार ग्रहण गर्दै नगरप्रमुख प्रसाईँले २ वटा निर्णय गरेकी छन् । निम्न वर्गका जनताको पहिचान गरी निःशुल्क स्वास्थ्य बिमा गर्ने र ५ वर्षभित्रमा नगरमा पर्याप्त सिँचाइको व्यवस्था गर्ने निर्णय गरिएको उनले बताइन् । शपथ ग्रहण कार्यक्रममा नगरप्रमुख प्रसाईँले कृषकले उत्पादन गरेका कृषि उपजको बजार व्यवस्थापन र प्रशोधनसँगै उद्यमशीलतालाई अगाडि बढाउनु पर्ने आवश्यकता रहेको भन्दै उत्पादनका लागि सिँचाइको व्यवस्था गरिने बताइन् ।
कार्यक्रममा प्रमुख अतिथि नेकपा एमाले झापा इन्चार्ज अग्नि खरेल, संविधानसभा सदस्य मनकुमार गौतम, नरेश खरेल,अमृतलाल राजवंशी, राष्ट्रियसभाका पूर्व सदस्य डिल्लीप्रसाद सिटौला, हरिचरण सिवाकोटी, प्रदेश सांसद एकराज कार्की, जसमाया गजमेरलगायतले शुभकामना मन्तव्य राखेका थिए । कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत विनोदकुमार न्यौपानेले स्वागत तथा वरिष्ठ कार्यक्रम अधिकृत जय तिम्सिनाले सञ्चालन गरेका थिए ।