निर्वाचनमा अन्तर्घात गर्ने झापाका नेता तथा कार्यकर्तालाई कारबाही
नेपाली कांग्रेसले स्थानीय तहको निर्वाचनमा अन्तर्घात गर्ने नेता कार्यकर्तालाई कारबाही गर्ने भएको छ । पार्टीका उम्मेदवारलाई असहयोग गरी अन्तर्घात गर्ने नेता कार्यकर्तालाई कारबाहीको सिफारिस गर्न थालिएको छ ।
काँग्रेस स्रोतका अनुसार झापाको गौरादहमा पार्टीले नराम्ररी पराजय व्यहोरेपछि त्यहाँ पार्टी सभापतिसहितका पाँच जना नेता कार्यकर्तालाई वडा तहमा सिफारिस गरेको छ । गौरादह– १ काँग्रेस वडा समितिका सभापति इन्द्र गौतमको अध्यक्षतामा जेठ १४ गते बसेको बैठकले निर्वाचनको समीक्षा गर्दै नगर सभापति यादवराज सेडाईसहित चार जनालाई कारबाहीको सिफारिस गरेको छ । यसरी कारबाहीको सिफारिस पर्नेमा सभापति सेडाई, इमानसिंह तामाङ,लीलानाथ पराजुली र वन्दना सेडाई रहेका छन् ।
सेडाईसहितका चार जनाले पार्टीका आधिकारिक उम्मेदवारलाई हराउन भूमिका निर्वाह गरेको भन्दै पार्टीका उपल्लो तहमा सिफारिस गरिएको बताइएको छ । सेडाई त्यहाँ मेयरका आकाङ्क्षी थिए । आफूले टिकट नपाएपछि यादवसहितका ती नेताहरु पार्टीविरुद्ध भित्री रुपमा सक्रिय भएको खुलेको छ । गौरादहमा कांग्रेसले यसअघि मेयरसहित तीन वटा वडा जितेको थियो । तर, यस निर्वाचनमा भने माओवादीसहितको गठबन्धनबाट मेयरका साझा उम्मेदवार निवर्तमान मेयर रोहितकुमार साह नराम्ररी पराजित हुन पुगेका छन् । वडामा भने गौरादह २ मा गोपाल कोइराला , ६ मा तोया प्रसाईँ र ८ मा माओवादीबाट गणेश राजवंशी निर्वाचित भएका छन् ।
निर्वाचनमा अन्तर्घात गर्नेलाई वडाबाट सिफारिस भएपछि विधानअनुसार कारबाहीमा पर्ने काँग्रेस विधानमा उल्लेख छ । यसैगरी गौरीगञ्जमा पनि महाधिवेशन प्रतिनिधि नीरज अग्रवालसहितका केही नेताहरु कारबाहीमा पर्ने भएका छन् । दमकमा पनि काँग्रेस प्रदेश प्रतिनिधिमा मनोनीत भएका घनेन्द्रराज योङ्यासहितका केही नेता तथा अगुवा कार्यकर्ताहरू कारबाहीको सिफारिसमा पर्ने भएका छन् ।
उनीसहित महाधिवेशन प्रतिनिधि रमा लिम्बू, दमक –१ का काँग्रेस वडा सभापति गजेन्द्र देवानलगायतले पार्टी उम्मेदवारलाई असहयोग गरेको भन्दै कारबाही गर्न लागेको पार्टी स्रोतले जनाएको छ । उनीहरूले निर्वाचनका बेला पार्टीका उम्मेदवारलाई हराउन विपक्षीलाई सहयोग गरेको , चुनावी प्रचारप्रसारलगायतका कार्यक्रममा समेत सहभागी भएका थिएनन् । तल्लो तहबाट सिफारिस भएर आएमा पार्टीले कारबाही गर्ने जिल्ला सभापति देउकुमार थेबेले बताए ।