बिर्तामोडका नवनिर्वाचित कार्यपालिका सदस्यले खाए शपथ
बिर्तामोड नगरपालिकाको कार्यपालिका सदस्यमा निर्वाचित आठ जनाले शपथ ग्रहण गरेका छन् । नगरपालिकाको कार्यालयमा मङ्गलवार एक कार्यक्रमको आयोजना गरी निर्वाचित सदस्यहरूलाई शपथ ग्रहण गराइएको हो । नगरप्रमुख पवित्रा महतारा प्रसाईँले शपथ ग्रहण गराएकी हुन् । कार्यपालिका सदस्यमा निर्वाचित हुनेहरूमा यमुनादेवी आचार्य,तिला गौतम,निर्मलादेवी सुनार, लक्षिमा खतिवडा,सङ्गीता सिवा,सीता ढुङ्गाना वि।क,शर्मिला राजवंशी र जगतबन्धु राजवंशी रहेका छन् । शपथ ग्रहण कार्यक्रममा नगर उपप्रमुख नगेन्द्रप्रसाद सङ्ग्रौला,प्रमुख प्रशासकीय अधिकृत विनोदकुमार न्यौपाने,वरिष्ठ कार्यक्रम अधिकृत जय तिम्सिना र वडाध्यक्षहरूको उपस्थिति रहेको थियो ।
शपथ ग्रहणपछि कार्यपालिकाको बैठक बसेको छ । नगरप्रमुख प्रसाईँको अध्यक्षतामा बसेको कार्यपालिकाको बैठकमा आर्थिक वर्ष २०७९/८०को बजेट,नीति तथा कार्यक्रमलगायतका विभिन्न विषयमा छलफल भयो । बैठकले नवनिर्वाचित जनप्रतिनिधिहरूलाई जेठ १९ र २० गते पञ्जिकरण सहितको २ दिने अभिमुखीकरण तालिम दिने निर्णय गरेको छ । यस्तै बैठकले वडा नम्बर ३,४,५ र ६मा पर्ने हर्कलाल सडक,वडा नम्बर ५को कनकाई मार्ग सडक,वडा नम्बर ९मा पर्ने सहिद चन्द्र मार्ग सडक, वडा नम्बर ४मा पर्ने विद्युत् प्राधिकरण दक्षिण नेकपा एमालेको पार्टी कार्यालय हुँदै पूर्वपश्चिम राजमार्ग जोड्ने सडक,वडा नम्बर ७ को गरामनि बजार उत्तर भुसावाडी जोड्ने सडक,वडा नम्बर १को नचानु टोल हुँदै बैँसावाडी ठाकुर मन्दिर जाने सडक र घाग्रा,देउनियाँ,अदुवा खोला कटान नियन्त्रण योजनाहरूका लागि प्रदेश सरकारसँग माग गर्ने निर्णय गरेको छ ।
यस्तै बैठकले नगरपालिका क्षेत्रभित्रका अति आवश्यकीय स्थानमा सडक मर्मत तथा स्तरोन्नति गर्न आवश्यक भएका कारण ग्राभेलको व्यवस्था गर्न नगरप्रमुखलाई जिम्मेवारी दिने निर्णय गरेको छ ।जनप्रतिनिधिहरू निर्वाचित भएपछिको यो दोस्रो कार्यपालिका बैठक हो । यसअघि जेठ ११ गते पहिलो बैठक सम्पन्न भएको थियो ।