२०८३ बैशाख ३१ गते , विहीबार

काँग्रेस नेता सिटौलाको पार्टी सदस्यता खारेजको माग

sajilo news
झापा
२०७९ जेष्ठ २० गते , शुक्रबार
काँग्रेस नेता सिटौलाको पार्टी सदस्यता खारेजको माग

विनोद सापकोटा । नेपाली काँग्रेस झापाका पूर्व जिल्ला सचिव भक्ति सिटौलालाई पार्टीको साधारण सदस्य समेत नरहने गरी कारबाही गर्न नेतृत्व सँग स्थानीय तहको निर्वाचनका एक वडा अध्यक्षका प्रत्याशीले माग गरेका छन् ।

झापाको शिवसताक्षी नगरपालिका वडा नम्बर ४ का वडा अध्यक्ष पदका प्रत्याशी उम्मेदवार राकेश ताजपुरियाले पार्टीको महाधिवेशन प्रतिनिधि समेत रहेका सिटौलालाई कारबाहीको माग गर्दे नगर समितिलाई निवेदन दिएका छन् । उनले बिहीबार नगर समितिलाई हस्त लिखित निवेदन दिएका हुन् ।

निर्वाचनका बेला पार्टीका उम्मेदवारलाई खुलेर असहयोग गरेको, उम्मेदवार विरुद्ध दुष्प्रचार गरेको, चुनावी अभियानमा पूर्ण समय नदिएको, केही कार्यक्रममा देखावटीरुपमा उपस्थित भएको लगायतका आरोप लगाउँदै वडा अध्यक्ष पदका प्रत्याशी ताजपुरियाले कारबाहीको माग गरेका हुन् ।

सिटौला जिल्लामा कहलिएका पार्टीका नेताका रुपमा चिनिन्छन् । उनी नेपाली काँग्रेसका पूर्व महामन्त्री कृष्ण सिटौला निकट नेता हुन् । नेपाली कांग्रेसले हाल सम्मको इतिहासमा नहारेको साबिकको पाँचगाछी गाविसमा गएको स्थानीय तहको निर्वाचनमा लज्जास्पद हार व्यहोरेको थियो ।

सिटौलाको पकड क्षेत्र मानिएको सो वडामा नेपाली कांग्रेसले हार व्यहोर्नुको मुख्य कारक सिटौला भएको वडा अध्यक्ष पदका प्रत्याशी ताजपुरियाले बताए । उनले भने, ‘इतिहासमा पहिलो पटक साबिकको पाँचगाछि गाविस पार्टी भित्रका अन्तर्घाती नेताका कारण हार भयो ।’ नेपाली काँग्रेसको ६८ प्रतिशत बाहुल्यता रहेको सो वडामा निर्वाचन हार्नु भनेको अन्तर्घात बाहेक अन्य कारण नभएको उनले ठोकुवा गरे ।

‘नेपाली काँग्रेसको कोखबाट जन्म लिने अनि पार्टीलाई आवश्यक परेको बेला दुला पस्ने नेताको के काम,रु’ ताजपुरियाले भने ‘पार्टी जोगाउने हो भने यस्ता अन्र्तघातिलाई अविलम्ब कारबाही गरेर पार्टीबाट निष्कासन गरियोस् ।’

वडा अध्यक्षका प्रत्याशी ताजपुरियाले सिटौला सहित पार्टीका जिल्ला सदस्य शुकदेव प्रसाद ताजपुरिया, प्रदेश समिति सदस्य पूर्णकुमार शाह, झापा क्षेत्र नम्बर ४ का क्षेत्रीय समिति सदस्य उमाकान्त उप्रेती, शिवसताक्षी नगरपालिका वडा नम्बर ४ का पार्टीका वडा सभापति देवनारायण ताजपुरिया समेतलाई कारबाहीको माग गरेका छन् ।

यस्तै वडा उपसभापति याम नाथ सिटौला, क्षेत्रीय प्रतिनिधि गोपाल तामाङ, हेमराज प्रसाईँ र पार्टीका क्रियाशील सदस्य सत्य नारायण राजबशीलाई कारबाहीको माग गरेका छन् । नेपाली काँग्रेसको निर्वाचन नियमावलीमा निर्वाचनका बेला पार्टीका आधिकारिक उम्मेदवारलाई जुनसुकै प्रकारको असहयोग गरे साधारण सदस्यता समेत नरहने गरी पार्टीबाट निष्कासन गर्ने प्रावधान छ ।

वडा अध्यक्ष पदका प्रत्याशी उम्मेदवार ताजपुरियाले स्थानीय तहको निर्वाचनमा असहयोग गरी आफ्ना पार्टीका उम्मेदवार हराउन पार्टी इतरका राजनीतिक दललाई सहयोग गर्ने नेतालाई कारबाहीको माग गर्दे नगर र प्रदेश समितिलाई निवेदन दिएका छन् ।

पार्टीका अन्तरघातिलाई कारबाहीको माग गर्दे निवेदन दिने शिवसताक्षी नगरमा वडा नम्बर ४ का वडा अध्यक्ष पदका उम्मेदवार ताजपुरिया पहिलो हुन् । उनले पार्टीका स्थानीय वडाका सभापति समेतलाई कारबाहीको माग गर्दे निवेदन दिएपछि वडामा खैलाबैला मच्चिएको वडाका एक सदस्यले बताए ।

उनले दिएको निवेदन नेपाली काँग्रेस शिवसताक्षी नगरका सभापति अशोक बस्नेत र प्रदेश ९क० का सभापति विनोद ढकालले बुझेका छन् । झापा निर्वाचन क्षेत्र नम्बर ४ को क्षेत्रीय समिति र जिल्ला समिति समेतलाई ताजपुरियाले निवेदनको बोधार्थ दिएका छन् ।

पूर्व जिल्ला सचिव सिटौलालाई ०७४ सालको निर्वाचनमा पनि पार्टीको उम्मेदवारलाई असहयोग गरेको आरोप थियो । तर, उनी विरुद्ध उजुरी गर्ने हिम्मत नगरमा कसैले गर्न सकेका थिएनन् ।

०७४/०७९ को स्थानीय तहको निर्वाचनमा शिवसताक्षी नगरबाट सिटौला मेयर पदका आकाङ्क्षी थिए । तर पार्टीले उनको आकाक्षालाई सम्बोधन नगरेपछि उनी पार्टीका उम्मेदवार विरुद्ध दुष्प्रचार गर्दे निर्वाचन जित्न बनिएको माहौल बिथोल्ने अभियानमा लागेको आरोप स्थानीय स्तरमा छ ।

गएको स्थानीय तहको निर्वाचनमा नगर प्रमुख पदका लागि पार्टीको आन्तरिक निर्वाचनमा उनी पनि लडेका थिए । ७६ जनाले मतदान गरेको आन्तरिक प्रतिस्पर्धामा मेयरका प्रत्याशी पर्शुराम ढुङ्गानाले ५१ मत पाउँदा उनले २१ मत मात्र पाएका थिए । त्यसैको झोँकमा उनले वडाका उम्मेदवार सहित नगरका अन्य उम्मेदवारलाई पूर्ण असहयोग गरेको आरोप छ ।

सम्बन्धित समाचार