२०८३ बैशाख ३१ गते , विहीबार
समन्वय समिति झापाको प्रमुखमा बराललाई उम्मेदवार बनाउने एमालेको निर्णय
झापा । नेकपा (एमाले) झापाले जिल्ला समन्वय समिति झापाको प्रमुखको उम्मेदवार विश्व बराललाई बनाउने निर्णय गरेको छ । त्यस्तै उपप्रमुखमा शान्ता रोक्का क्षेत्रीलाई उम्मेदवार बनाउने निर्णय गरेको जिल्ला समन्वय समिति झापाका प्रमुख सोम पोर्तेलले जानकारी दिए । बराल दमक नगरपालिका र क्षेत्री बिर्तामोड नगरपालिकाका कार्यपालिका सदस्य हुन् ।
जिल्ला निर्वाचन कार्यालयले जिल्ला समन्वय समितिको निर्वाचनको मिति तय गर्ने भएको छ । जिल्ला सभाको बैठक गरी मिति तय गरिने जिल्ला निर्वाचन कार्यालयका प्रमुख तुलसी नेपालले बताए । जिल्ला समन्वय समितिमा प्रमुख , उपप्रमुख ,कम्तीमा तीन जना महिला सदस्य , एक जना दलित सदस्य र बढीमा तीन जना खुल्ला सदस्य रहने प्रावधान रहेको छ । त्यस विषयमा छलफल गरी निर्वाचनको मिति घोषणा गरिने नेपालले बताए । जिल्ला सभामा नेकपा एमालेको बहुमत रहेको छ ।