भ्यूटावरलाई अस्पताल बनाउनुपर्ने मागसहित दमक नगरपालिकालाई माओवादीको १९ बुँदे ज्ञापनपत्र
दमक । नेकपा (माओवादी केन्द्र) नगर कमिटी दमकले विभिन्न मागहरू समेटेर नगरपालिकाको ध्यानाकर्षण गराएको छ । माओवादी दमकको नेतृत्व टोलीले बिहीबार नगरपालिका कार्यालयमा पुगेर नगर प्रमुख रामकुमार थापालाई स्थानीय जनसरोकारका विभिन्न १९ वटा बुँदागत माग राखेर ज्ञापनपत्र बुझाएको माओवादी केन्द्रका नगर इन्चार्ज वेदु गौतमले जानकारी दिए ।
ज्ञापनपत्रमा भूमिहीन सुकुम्वासी,भूमिहीन दलित,अव्यवस्थित बसोबासलाई तथ्याङ्क प्रमाणित गरी भूमि आयोगको समन्वयमा तत्काल जग्गाधनी पुर्जा उपलब्ध गराउनु पर्ने, त्यस्ता गरिब परिवारलाई शिक्षा,स्वास्थ्य, बिजुली ,खानेपानी निःशुल्क उपलब्ध गराउनु पर्ने , दमक ४ मा निर्माणाधीन भ्यूटावरको संरचनालाई उपयोग गरी मेडिकल कलेजसहितको प्रादेशिक अस्पताल सञ्चालनका लागि पहल गर्न माग गरिएको छ ।
यसैगरी बर्षोदेखि विवादित रहेको पूर्वाधार शुल्कको नाममा लिइने पटके कर तुरुन्त खारेजी गर्न ,लामो समयदेखि बेवास्ता रहेको सामुदायिक विद्यालयको नेतृत्व यथाशीघ्र गर्न र कतिपय विद्यालयमा हुने बेथिति तथा भ्रष्टाचार नियन्त्रण एवं छानबिन गर्न माग गरिएको छ । पार्टीका नगर कमिटी अध्यक्ष कुलबहादुर बस्नेत ९रवि ० र इन्चार्ज वेदु गौतमको हस्ताक्षर रहेको ज्ञापनपत्रमा सेनेटरी प्याड खरिदमा भएको अनियमितताको छानबिन गर्नु पर्ने, नगरभित्रका सम्पूर्ण मजदुरहरू पञ्जीकरण गरी परिचयपत्रको व्यवस्था गरिनु पर्ने तथा उनीहरूको निःशुल्क स्वास्थ्य बिमाको व्यवस्था गर्न माग गरिएको छ ।
त्यस्तै, नगरका सडकहरूको स्तरोन्नति गर्न, ट्राफिक व्यवस्थापन गर्न ,खोलाको दीर्घकालीन हुने गरी व्यवस्थापन गर्नुपर्ने, कक्षा १२ सम्म निःशुल्क व्यवस्था गर्नुपर्ने, कला ,संस्कृति तथा साहित्यको विकासजस्ता समाज कल्याणसम्बन्धी कार्यक्रमलाई नियमित गर्नुपर्ने ज्ञापनपत्रमा समेटिएको छ । सार्वजनिक स्थलमा खुला क्षेत्रको महत्त्वलाई मध्यनजर गरी दमकको विभिन्न ठाउँमा प्रदर्शनी स्थल तथा खुला पार्कको व्यवस्था गर्न तथा दमक ९ मा निर्माणाधीन सभागृहलाई फाल्गुननन्द सभागृह नामकरण गर्न मागपत्रमा उल्लेख छ ।