मतदाता नामावली अद्यावधिमा खटिन काँग्रेसको निर्देशन
नेपाली काँग्रेस झापाले मतदाता नामावली अद्यावधि कार्यमा क्रियाशील रहन मातहतका समितिहरूलाई निर्देशन गरेको छ । नेपाली काँग्रेस झापाका सभापति देउकुमार थेवेको सभापतित्वमा सम्पन्न बैठकले आगामी असार १ गतेबाट सुरु हुने मतदाता नामावली अद्यावधि कार्यमा खटिन निर्देशन दिने निर्णय गरेको हो ।
बैठकले झापाका विभिन्न पालिका र वडामा निर्वाचित पालिका प्रमुख, उपप्रमुख, कार्यपालिका सदस्य, वडाध्यक्ष, वडा सदस्य, परिषद् सदस्यहरूलाई बधाई तथा शुभकामना व्यक्त गरेको छ । बैठकले पार्टीको नीति, विचार, सिद्धान्त एवं जनचाहनाबमोजिम कार्य गर्न÷गराउन उपयुक्त समयमा एक दिने प्रशिक्षण राख्ने निर्णय गरेको सचिव कृष्ण हुमागाईँले जानकारी दिए ।
बैठकमा केन्द्रीय सदस्य सुशीला ढकाल, नेपाली काँग्रेस १ नं प्रदेश समितिका सभापति उद्धव थापा, संविधानसभा सदस्य सुधीरकुमार सिवाकोटी, पूर्व सांसद डिल्लीप्रसाद सिटौला लगायतले पार्टी सङ्गठन विस्तार, निर्वाचनका क्रममा प्राप्त उपलब्धि र आगामी दिनमा अवलम्बन गर्नुपर्ने नीतिका बारेमा विचार राख्नुभएको कार्यालय सचिव जयकुमार दाहालले जानकारी दिए।