२०८३ बैशाख ३१ गते , विहीबार

बिर्तामोडमा एमसिसी र एसपिपी सम्झौताविरुद्ध नेकपाको विरोध प्रदर्शन

sajilo news
झापा
२०७९ असार ३ गते , शुक्रबार
बिर्तामोडमा एमसिसी र एसपिपी सम्झौताविरुद्ध नेकपाको विरोध प्रदर्शन

नेत्र विक्रम चन्द “विप्लव ” नेतृत्वको नेकपा झापाले बिर्तामोडमा “एमसिसी र एसपिपी” सम्झौता विरुद्ध विरोध प्रदर्शन गरेको छ। झापाको बिर्तामोड स्थित मुक्तिचोकमा नेकपाका नेता तथा कार्यकर्ताले एमसिसी र एसपिपी सम्झौताको विरुद्ध विभिन्न नारा लेखिएका प्लेकार्ड सहित प्रदर्शन गरेका हुन्,।

पार्टीका जिल्ला कार्यालय सचिव सञ्जय राईले सञ्चालन गरेको उक्त कार्यक्रमलाई प्रमुख वक्ता पार्टीका जिल्ला सचिव प्रशान्तले सम्बोधन गरेका थिए भने बुद्धिजीवी सङ्गठनका केन्द्रीय सदस्य सुरेन्द्र कार्कीले समेत सभालाई सम्बोधन गरेका थिए। सभालाई सम्बोधन गर्दै पार्टी जिल्ला सचिव प्रशान्तले कुनै पनि हालतमा देशलाई सिरिया वा युक्रेन हुन नदिने भन्दै सम्पूर्ण राष्ट्रभक्त जनता र राजनीतिक दलहरूलाई राज्यको गलत कदम विरुद्ध सडकमा उत्रन अपिल गरे ।

साम्राज्यवादी शक्तिहरूले देशमाथि चलखेल गर्दै हस्तक्षेप गर्दा समेत उल्टै सरकारले प्रतिकार गर्नुको सट्टा सहयोग पुर्‍याउने काम गरेको बताउँदै यो सरकार देश र जनताको हितमा नभएको बताए । उनले एमसिसी र एसपिपी सम्झौता राष्ट्रघाती सम्झौता भएको र यो देशको हित विपरीत रहेकाले कुनै पनि हालतमा खारेजी हुनुपर्ने माग गरे।

त्यस्तै सभालाई सम्बोधन गर्दै बुद्धिजीवी सङ्घका कार्कीले नेपालमा रहेका संसदीय दलहरू राष्ट्र घात जस्तो विषयमा पनि एक शब्द नबोल्ने र साम्राज्यवादी शक्तिहरूलाई सघाएर देशलाई विदेशी दलालहरूको हातमा सुम्पन उद्वेलित रहेको आरोप लगाए। एमसिसी र एसपिपी सम्झौता गरेर संसदीय दलका नेताहरूले जनतालाई झुक्क्याएर राष्ट्र घात गरेको भन्दै सबै जनता राष्ट्रघातका विरुद्ध सडकमा उत्रन कार्कीले अपिल गरे। यसअघि पनि नेकपाले झापा सहित देशैभर एमसिसी सम्झौताको विरुद्ध पटक पटक आन्दोलन र सडक सङ्घर्ष समेत गरेको थियो ।

सम्बन्धित समाचार