२०८३ बैशाख ३१ गते , विहीबार

भद्रपुरका १७ माओवादी नेता तथा कार्यकर्ता कारबाहीमा (विज्ञप्तिसहित)

sajilo news
झापा
२०७९ असार ६ गते , सोमबार
भद्रपुरका १७ माओवादी नेता तथा कार्यकर्ता कारबाहीमा (विज्ञप्तिसहित)

भद्रपुर । स्थानीय तह निर्वाचन–२०७९ मा अन्तर्घातसँगै पार्टीको नीति, विधि र सिद्धान्त विपरीत कार्य गरेको ठहर गर्दै नेकपा माओवादी केन्द्र भद्रपुर निर्वाचन परिचालन समितिले १७ जनालाई कारबाहीका लागि सिफारिस गरेको छ ।

समितिले पार्टीको प्रदेश कमिटीलाई निलम्बनदेखि स्पष्टीकरणसम्मको कारबाहीका लागि उनीहरूको सिफारिस गरेको निर्वाचन परिचालन कमिटी भद्रपुरका संयोजक डिल्ली घिमिरे (हिक्मत)ले जानकारी दिए ।

पार्टी सदस्यता निलम्बनको सिफारिसमा सन्तबहादुर लिम्बू ‘सुजय’, नरेश सन्जेल, लक्ष्मण जमरकट्टेल, चन्द्रबहादुर तामाङ र धिरेन राजवंशीको नाम छ । त्यस्तै, स्पष्टीकरण लिनुपर्नेमा मिरा अधिकारी, विष्णुबहादुर राई, रुद्र निरौला, भारतसिंह राजवंशी, अरविन्द अधिकारी, धनश्याम खनाल, रञ्जित राई, चन्द्र गौतम, योगराज अधिकारी, सन्तोष तामाङ, आशिष् खनाल र मोक्ष निरौला रहेका छन् ।

पटक–पटक पार्टीमा घात–अन्तर्घात गर्दै पार्टीलाई नष्ट र भ्रष्ट पार्न खोज्ने, जति मौका दिएर रूपान्तरणको आशा गरे पनि नहुनेहरूलाई कम्युनिस्ट पार्टीको सिद्धान्त र नेकपा (माओवादी केन्द्र) को अन्तरिम विधान २०७८ अनुसार अनुशासनको कारबाहीका लागि सिफारिस गरिएको हो ।

‘स्थानीय निर्वाचन २०७९ को भद्रपुर नगरको समीक्षा बैठकको निर्णयबाट पनि अति आवश्यक महसुस भएको छ’, उनले भने, ‘सोही बमोजिम प्रदेश कमिटीमा कारबाहीका लागि नाम सिफारिस गरेका छौँ ।’

नगरको पार्टीलाई जीवन्तता दिई आगामी निर्वाचनमा अब्बल बनाउन भद्रपुर नगरको मिति २०७९ असार ३ गतेको बैठकको वडा वडाबाट आएको रिपोर्ट, निर्वाचनको बेलाको वस्तुगत यथार्थ अवस्था र बैठकको निर्णय समेतका आधारमा कारबाहीका लागि सिफारिस गरिएको उनले बताए। कारबाही सिफारिसको बोधार्थ नेकपा (माओवादी केन्द्र) जिल्ला समन्वय समिति झापालाई समेत दिएको छ ।

सम्बन्धित समाचार