एमाले भद्रपुरको निष्कर्ष : स्थानीय निर्वाचनमा पार्टीका उम्मेदवारमाथि अन्तर्घात भयो
नेकपा (एमाले) भद्रपुर नगर कमिटीले स्थानीय तहको निर्वाचनमा पार्टीका उम्मेदवारमाथि अन्तर्घात भएको निष्कर्ष निकालेका छन् । एमाले नगर कमिटीले निर्वाचनमा हार बेहोर्नुपरेको निष्कर्षसहित त्यसबारे खोजविन गर्ने भएको छ ।
नगर कमिटीले स्थानीय तहको निर्वाचन सम्पन्न भएको झन्डै दुई महिनापछि मङ्गलवार स्थानीय तहको निर्वाचन समीक्षा विस्तारित बैठक बसेको थियो । स्थानीय तह निर्वाचनको वस्तुस्थितिलाई मूल्याङ्कन गरेर वडागत रुपमा तयार गरिएको रिपोर्टिङलाई आधार मानेर नगर कमिटीले त्यस्तो निष्कर्ष निकालेको हो । निर्वाचनमा कमी कमजोरी भएरै हार बेहोर्नु परेको निष्कर्ष समीक्षा बैठकले निकालेको नगर प्रमुखका पराजित उम्मेदवार असारु राजवंशीले बताए ।
जिल्ला कमिटीका उपसचिवसमेत रहेका राजवंशीले अन्तर्घातलगायतका कमी कमजोरी भएकै कारण आफूलगायतले पराजय बेहोर्नु परेको निष्कर्ष निकालिएको बताउँदै अन्तर्घात गर्नेहरूको खाजी गर्ने निर्णय भएको जानकारी दिए । प्रदेश कमिटी सदस्य यमबहादुर श्रेष्ठले पाँच दलीय गठबन्धनसँगको असहज भिडन्त र राजनीतिक पार्टीप्रतिको वितृष्णाका कारणले समेत निर्वाचनमा हार बेहोर्नुपरेको निष्कर्ष बैठकले निकालेको जानकारी दिए ।
नगर कमिटी अध्यक्ष ब्रह्मलाल ढुङ्गानाको अध्यक्षतामा भएको कार्यक्रमको प्रमुख अतिथि प्रदेश कमिटी सदस्य यमबहादुर श्रेष्ठ रहेका थिए । कार्यक्रममा प्रदेश कमिटी सदस्यहरू माधव विद्रोही ,शुभलक्ष्मी राई , घनश्याम अधिकारी , जिल्ला कमिटीका उपसचिवहरू चन्द्रा श्रेष्ठ , असारु राजवंशी , जिल्ला सदस्य पुरुषोत्तम अधिकारीलगायत नगर कमिटी र वडा कमिटीका पदाधिकारी र सदस्यहरूको सहभागिता रहेको थियो । अघिल्लो २०७४ को निर्वाचनमा एमालेले भद्रपुरमा नगर प्रमुख , उपप्रमुखसहित बहुमत जितेको थियो । तर , यस निर्वाचनमा एमालेको सो आधार इलाका भत्किएको छ ।
निर्वाचनमा नेपाली काँग्रेसका उम्मेदवार गणेश पोखरेल नगर प्रमुखमा निर्वाचित भएका छन्। उपप्रमुखमा गठबन्धनका उम्मेदवारलाई पछि पार्दै राप्रपाकी राधा कार्की निर्वाचित भएकी छिन्।
गठबन्धनका निकटतम प्रतिस्पर्धी नेकपा ९एमाले०बाट नगर प्रमुखका उम्मेदवार असारु राजवंशीलाई २ हजार ७६६ मतान्तरले पराजित गर्दै काँग्रेसका पोखरेल निर्वाचित भएका हुन्। भद्रपुरमा कांग्रेसले नगर प्रमुख जितेर यसपल्ट इतिहास रचेको छ। पोखरेलले १२ हजार ५२५ मत ल्याउँदा राजवंशीले ९ हजार ७५९ मत ल्याएका छन्।
राप्रपाले पनि भद्रपुरमा इतिहास रच्दै उपप्रमुखमा बाजी मारेको छ। काँग्रेस र एकीकृत समाजवादी गठबन्धनबाट माओवादीका उम्मेदवार शिवकुमार राजभण्डारीलाई ६९७ मतान्तरले पराजित गर्दै राप्रपाकी कार्की निर्वाचित भएकी हुन्। कार्कीले ९ हजार २३० मत ल्याउँदा राजभण्डारीले ८ हजार ५३३ मत ल्याएका छन्।