संघीयता खारेजीको माग गर्दै भद्रपुरमा राप्रपाको विरोध प्रदर्शन
भद्रपुर । राष्ट्रिय प्रजातन्त्र पार्टी झापा ३ नम्बर क्षेत्रीय समितिले संघीयता खारेजीको माग गर्दै भद्रपुरमा विरोध प्रदर्शन गरेको छ । नागरिकता विधेयक, बढ्दो महँगी , एमसीसी र संघीयता खारेजीलगायत २२ बुँदे माग राख्दै राप्रपाले पम्प्लेटसहित प्रदर्शन गरेको हो ।यसअघि प्रधानमन्त्री शेरबहादुर देउवालाई बुझाएको २२ बुँदे माग लागू नभएकोले त्यहीँ माग पूरा गराउन पुनः सडकमा उत्रिएको राप्रपाले जनाएको छ।
संगम चोकबाट सुरु भएको विरोध प्रदर्शन भद्रपुर बजारमा पुगेर कोणसभामा परिणत भएको थियो। कोणसभामा बोल्दै राप्रपा क्षेत्र नं ३ प्रदेश ‘ख’ का अध्यक्ष एवम् हल्दिवारी गाउँपालिका अध्यक्ष रवीन्द्र लिङ्देनले राष्ट्रियता जोगाउन अब सबै नेपालीहरू लाग्नुपर्ने बताए । गठबन्धनको नाममा जनतालाई झुक्क्याउने यो सरकारको नेतृत्व फेल भएको उनले दाबी गरे । लिङ्देनले नागरिकता विधेयक खारेज गर्न माग गर्दै यो माग सम्बोधन नभए अझ सशक्त आन्दोलन गर्ने चेतावनी दिए।
राप्रपाले महँगी नियन्त्रण, किसानलाई समयमै मल, राष्ट्रियताको संरक्षण, संघीयता खारेजीलगायतका माग राखेर गत असार १ गते प्रधानमन्त्री शेरबहादुर देउवालाई ज्ञापनपत्र बुझाएको थियो ।
