७३ वर्षीय पूर्वप्रधानमन्त्री खनाल फेरि चुनावमा उठ्ने
झापा । उमेरले ७३ वर्ष कटेका पूर्वप्रधानमन्त्री झलनाथ खनालको निर्वाचन लड्ने धोको अझै पूरा भएको छैन । उनी यस पटक पनि प्रतिनिधिसभाको निर्वाचनमा उठ्दैछन् ।
वि. सं. २००६ साल चैत ६ गते इलाम जिल्लाको साँखेजुङमा जन्मेका नेकपा एकीकृत समाजवादीका वरिष्ठ नेता खनाल छैटौँ पटक निर्वाचनमा उठ्न लागेका हुन् । पछिल्लो पटक २०७४ सालको आम निर्वाचनमा उनी पाँचौँ पटक निर्वाचित भएका थिए । खनालले इलामको निर्वाचन क्षेत्र नं। १ बाट नेपाली काँग्रेसका भूपेन्द्र कट्टेललाई १७ हजार १६९ मतले पराजित गरेका थिए ।
यस पटकको निर्वाचनमा पनि आफू उठ्न लागेको खनालले बताएका छन् । आफ्नो निर्वाचन क्षेत्र जाने क्रममा शनिवार बिर्तामोडमा पत्रकारहरूसँग कुराकानी गर्दै खनालले इलामका पाँच पालिकाका जनताले फेरि पनि आफूलाई बोलाइरहेको बताए । इलामको क्षेत्र नं १ बाट निर्वाचन जितेर उनले राजधानीमा बसेर राजनीति गर्दै आएका छन् । स्थानीय तहको निर्वाचनजस्तै आम निर्वाचनमा पनि जनताले नयाँ अनुहार खोजिरहेका छन् नि भन्ने पत्रकारहरूको प्रश्नमा उनले राजनीति उमेरले नगर्ने भन्दै त्यसका लागि विचार र भिजन आवश्यक पर्ने धारणा राखे ।
पूर्व प्रधानमन्त्रीहरूलाई आगामी मङ्सिर ४ गतेको निर्वाचनमा बिदा गर्नुपर्ने आवाजका सम्बन्धमा उनले पूर्व प्रधानमन्त्रीहरूलाई छुट्टी गर्ने लिस्ट कसले बनायो रु कसरी बनायो रु त्यसबारे आफूलाई थाहा नभएको प्रतिक्रिया दिए । उनले आफूले अहिले नै राजनीतिबाट संन्यास नलिने निर्णय सुनाए ।‘अहिले नै संन्यास लिँदिनँ, बिस्तारै बिस्तारै राजनीति छोड्छु’ उनले भने । युवा र तन्दुरुस्तलाई मात्र प्राथमिकता दिने हो भने धावक वैकुण्ठ मानन्धरलाई प्रधानमन्त्री बनाए भइहाल्यो नि भन्ने प्रतिप्रश्न गरे ।
स्थानीय तहको निर्वाचनमा जितेका युवा र स्वतन्त्र उम्मेदवारहरूले आफूहरूलाई चुनौती दिएको स्वीकार गर्दै उनले नयाँ जोस लिएर आएका उनीहरू एक–दुई महिनामै थाकिसकेको दाबी गरे । बालेन शाहले उठाउन नसकेको फोहोरको थुप्रो हेरेर आफू राजधानीबाट आएको बताउँदै काठमाडौंवासीहरुले बालेन खोइ बालेन खोइ भन्दै खोजिरहेको दाबी गरे । उनले पत्रकारहरूको प्रश्नमा आफूहरूले बालेनलाई काम गर्न कुनै अवरोध नगरेको बताए ।