२०८३ बैशाख ३१ गते , विहीबार

मतदातालाई निराश होइन, उत्साहित हुने गरी काम गर्नेछौँ : देवराज घिमिरे

sajilo news
झापा
२०७९ मंसीर ८ गते , विहीबार
मतदातालाई निराश होइन, उत्साहित हुने गरी काम गर्नेछौँ : देवराज घिमिरे

बिर्तामोड । झापा-२ मा एमालेबाट निर्वाचित प्रतिनिधिसभा सदस्य देवराज घिमिरेले जनताका बिचमा गरेका प्रतिबद्धता पुरा गरेरै छाड्ने बताएका छन् । मतदातालाई धन्यवाद दिदैं उनले कठिन परिस्थितिमा समेत एमालेलाई विजयी गराएकोमा आफूले गरेका बाचा पुरा गर्ने बताए ।

बुधवार साँझ विजयी घोषणा भएका घिमिरे, प्रदेशमा निर्वाचित एकराज कार्की र चिन्तन पाठकसहित बिहीबार आयोजित विजय र्‍यालीमा मतदातालाई धन्यवाद दिदैं विगतका कमजोरी सच्याउँदै आगामी दिनमा जनताको आकाङ्क्षा अनुसार काम गर्दै जाने उनको भनाई थियो । सुखानी सहिदहरूलाई माल्यार्पण गरेर सुरु गरिएको विजयी र्‍याली झापा २ का सबै भूगोल पुगेर बिर्तामोडमा कोणसभा गरिएको थियो ।

कोणसभामा झापा २ को विकासका लागि आफूहरूलाई निर्वाचित गराएकोमा मतदातालाई धन्यवाद दिए । घिमिरेले यस क्षेत्रको विकासमा आम नागरिकको सुझावका आधारमा अघि बढ्ने प्रतिबद्धता समेत व्यक्त गरेका छन् । मतदातालाई निराश होइन, उत्साहित हुने गरी काम गर्नेछु – घिमिरेले भने, ‘नेकपा एमालेलाई विजयी गराएकोमा पछुताउनुपर्ने छैन । गौरव गर्ने बनाउनेछौँ ।’ उनले भने, अधुरा विकासका काम पुरा गर्दै आगामी योजनाका बारेमा जनताका बिचमा सल्लाह गरेर काम गर्नेछु ।

झापा २ मा जनताले गठबन्धनलाई अस्वीकार गरेकोप्रति खुसी प्रकट गरेका छन् । गठबन्धन राष्ट्रको हितमा छैन भन्ने जनताले बुझ्नुभयो । म त्यसमा झनै खुसी छु । सुखानीपछि शनिश्चरे भेला भएको र्‍याली बुधबारे, होक्से, खुदुनाबारी, लक्ष्मीपुर, घैलाडुब्बा, चारपाने, बिर्ताबजार, गरामनि, देउनियाँ, बुट्टावारि हुँदै बिर्तामोड आएको थियो । निर्वाचित उम्मेदवारहरूलाई सडकभरि माला पहिराउँदै आशीर्वाद दिनेहरूको बाक्लो उपस्थिति थियो ।

सम्बन्धित समाचार