२०८३ बैशाख ३१ गते , विहीबार

झापा– ३ बाटै बने आठ सांसद (नामसहित)

sajilo news
पार्थ मण्डल
२०७९ मंसीर २७ गते , मंगलबार
झापा– ३ बाटै बने आठ सांसद (नामसहित)

झापा । देशकै राजनीतिमा चर्चा पाएको झापा क्षेत्र नम्बर ३ बाट प्रतिनिधिसभा र प्रदेशसभा गरी आठ जना सांसद बनेका छन् । यस क्षेत्रबाट तीन जना प्रत्यक्ष र पाँच जना समानुपातिकबाट सांसद बनेका हुन् । सङ्घीयतर्फ चार र प्रदेशतर्फ चार जना रहेका छन् । प्रत्यक्षतर्फ प्रतिनिधिसभामा राप्रपाका अध्यक्ष राजेन्द्रप्रसाद हल्दिबारीका लिङ्देनले काँग्रेस नेता कृष्णप्रसाद सिटौलालाई पराजित गर्दै दोस्रो पटक सांसद बनेका छन् । 
राप्रपाबाटै समानुपातिकतर्फ कचनकवलकी निमसरि राजवंशी प्रदेश सांसद बनेकी छिन् । राजवंशी कचनकवल गाउँपालिकाकी निवर्तमान उपाध्यक्ष हुन् । 
त्यस्तै नेपाली काँग्रेसबाट प्रत्यक्षतर्फ कचनकवलका भूमिप्रसाद राजवंशी प्रदेश सांसदमा निर्वाचित भएका छन् । राजवंशीले नेकपा एमालेका नेता तथा निवर्तमान प्रदेश सांसद वसन्त बानियाँलाई पराजित गरेका हुन् । 
काँग्रेसबाटै समानुपातिकतर्फ भद्रपुरका मोहन महर्जन प्रदेश सांसदमा चुनिएका छन् । महर्जन काँग्रेसका पूर्व भद्रपुर नगर सभापतिसँगै सिटौलाका विश्वास पात्र हुन् । त्यसैगरी नेकपा एमालेबाट प्रत्यक्षतर्फ छविलाल चुँडाल प्रदेश सांसदमा निर्वाचित भएका छन् । 
हल्दिबारीका चुँडालले माओवादी केन्द्रका नेता तथा निवर्तमान प्रदेश सांसद पूर्णसिंह राजवंशीलाई पराजित गरेका हुन् । एमालेबाटै समानुपातिकतर्फ के.आर खम्बु (कालूराम राई) सङ्घीय सांसद बनेका छन् । खम्बु नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीका राजनीतिक सहयात्री हुन् । 
यता राष्ट्रिय स्वतन्त्र पार्टीबाट समानुपातिकबाट भद्रपुरकी निशा डाँगी सङ्घीय सांसद बनेकी छिन् । डाँगी हाल काठमाडौँमा बसेर पत्रकारिता गर्दै आइरहेकी छिन् । 
त्यस्तै जनता समाजवादी पार्टी नेपाल (जसपा)बाट समानुपातिकतर्फ भद्रपुरकी सहनाज रहमान सङ्घीय सांसद बनेकी छिन् । मुस्लिम कोटाबाट रहमान जसपाका अध्यक्ष उपेन्द्र यादवका विश्वास पात्र हुन् । २०७४ सालको आम निर्वाचनमा यस क्षेत्रबाट चार जना सांसद मात्र थिए ।  

सम्बन्धित समाचार