२०८३ बैशाख ३१ गते , विहीबार

झापाकी इन्दिरा उपसभामुखमा निर्वाचित

sajilo news
झापा
२०७९ माघ ७ गते , शनिबार
झापाकी इन्दिरा उपसभामुखमा निर्वाचित

झापा क्षेत्र नं. २ ले सभामुख र उपसभामुख पाएको छ । माघ ५ गते भएको सभामुखको निर्वाचनमा सत्तारुढ गठबन्धनबाट उम्मेदवार बनेका देवराज घिमिरे सभामुख बनेका छन् भने शनिवार भएको उपसभामुखको निर्वाचनमा झापाकै इन्दिरा राना मगर निर्वाचित भएकी छन् ।

एमालेका तर्फबाट उम्मेदवार बनेका घिमिरे र राष्ट्रिय स्वतन्त्र पार्टीबाट उम्मेदवार बनेकी राना मगर निर्वाचित भएसँगै झापा २ ले सभामुख र उपसभामुख पाएको हो । प्रतिनिधिसभाको उपसभामुख पदमा राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद राना निर्वाचित भएकी हुन् । प्रतिनिधिसभाको आजको बैठकमा रानालाई उपसभामुख पदमा निर्वाचित गरियोस् भनी प्रस्तुत प्रस्तावको पक्षमा एक सय ६६ मत खसेको थियो ।
सभामुख देवराज घिमिरेले मतविभाजनको परिणाम सार्वजनिक गर्दै उनलाई उपसभामुख पदमा निर्वाचित गरियोस् भन्ने प्रस्तावको पक्षमा उपस्थित सङ्ख्याको बहुमत पुगेकाले राना उपसभामुख पदमा निर्वाचित भएको घोषणा गरे ।

उक्त प्रस्तावको विपक्षमा जम्मा ९७ मत खसेको थियो । मतदानमा जम्मा दुई सय ६४ मत खसेको थियो । एक जनाले भने मत दिएनन् । रानालाई उपसभामुख पदमा निर्वाचित गरियोस् भन्ने प्रस्तावको पक्षमा बहुमत देखिएकाले अर्को प्रस्तावलाई बैठकमा निर्णयार्थ प्रस्तुत गरिएन ।
रास्वपाका उम्मेदवार थापाको प्रस्तावकमा सोही दलका सोविता गौतम र समर्थकमा एमालेका कृष्णगोपाल श्रेष्ठ, नेकपा (माओवादी केन्द्र)का नारायणी शर्मा र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का राजेन्द्र लिङदेन रहेका थिए । नेपाली काँग्रेसकी मुक्ताकुमारी यादवको प्रस्तावकमा काँग्रेस सहमहामन्त्री बद्रीप्रसाद पाण्डे र समर्थकमा नेकपा (एकीकृत समाजवादी)का नेता मेटमणि चौधरी र लोसपाका सर्वेन्द्रनाथ शुक्ल थिए ।

यसअघि काँग्रेसका अर्जनु नरसिंह केसी, रुपा सोशी चौधरी, राष्ट्रिय स्वतन्त्र पार्टीका सुमना श्रेष्ठ, राष्ट्रिय प्रजातन्त्र पार्टीका ज्ञानबहादुर शाही, जनता समाजवादी पार्टी, नेपालका राजकिशोर यादव, नेकपा (एकीकृत समाजवादी)का अम्मरबहादुर थापा र जनमत पार्टीका गोमा लाभ (सापकोटा)ले आ–आफ्ना पार्टीले समर्थन गरेका उपसभामुखका उम्मेदवारको पक्षमा मत दिने प्रतिबद्धता व्यक्त गरेका थिए ।

यस्तै लोकतान्त्रिक समाजवादी पार्टी नेपालका रामप्रकाश चौधरी, नागरिक उन्मुक्ति पार्टीका गङ्गाराम चौधरी, नेपाल मजदुर किसान पार्टीका प्रेम सुवाल, राष्ट्रिय जनमोर्चाका चित्रबहादुर केसी, स्वतन्त्र सांसद अमरेशकुमार सिंह, प्रभु साह र योगेन्द्र मण्डलले पनि आ–आफ्नो धारणा राखे । प्रतिनिधिसभाको अर्को बैठक माघ १० गते मङ्गलवार बस्नेछ ।

सम्बन्धित समाचार