कैदीबन्दीको अधिकारका लागि सधैं आवाज उठाउछु : उपसभामुख रानामगर
प्रतिनिधिसभाको उपसभामुख इन्दिरा राना मगरले कैदीवन्दीको अधिकारका लागि राजनीतिमा प्रवेश गरेको बताएकी छन् । उनले कैदीबन्दीको अधिकारको लागि सधैं आवाज उठाइरहने बताइन् ।
झापा कारागारमा रहेको बन्दी विकास पुस्तकालयको सोमवार सम्पन्न २६ औं वार्षिकोत्सव तथा २५ औं साधारणसभा बोल्दै उनले कैदीबन्दीको आधारभुत मानवअधिकारका लागि लामो समयदेखि क्रियाशिल रहेको बताइन् । उपसभामुख मगरले सदनलाई निष्पक्ष र सभ्य बनाउदै कैदीवन्दीको अधिकारका लागि अझै क्रियाशिल हुने भनाई राखेकी छन् ।
कार्यक्रमको प्रमुख अतिथी मगरले कारागारमा जेल जीवन विताइरहेका कैदीबन्दीका सबै समस्याहरुका बारेमा आफु जानकार रहेको बताइन् । उनले भनिन्, ‘तपाईहरुको एकएक समस्या मलाई थाहा छ । समाधान गर्न सधैं लागिरहनेछु ।’
सांस्कृतिक कार्यक्रम सहित आयोजना गरिएको पुस्तकालयको वार्षिकोत्सवमा सचिव रमेश पोखरेलले प्रतिवेदन प्रस्तुत गरेका थिए । उनले प्रतिवेदन प्रस्तुत गर्दै विविध परिस्थितिका कारण मानिसहरु जेल जीवन बिताउन बाध्य भएको बताएका छन् । जानअन्जानमा भएका गल्ती र केहि कानुनी छिद्रहरुको गलत प्रयोगका कारण जेल सजाय भोगिरहनु परेको उनको भनाई थियो ।
सचिव पोखरेलले झापा कारागार नमूना कारागारको रुपमा रहेको दावी गरेका छन् । उनले देशभरका कारागारमध्ये झापाको कारागार नमूना भएको दावी गर्दै भने – ‘हामी सीप सिकाउँछौ, रोजगारी अनुसारको ज्याला दिन्छौं । शिक्षा, स्वास्थ्य लगायतका कार्यक्रमहरु सञ्चालन गरिरहेका छौं । पछिल्लो समय बौद्धिक विकासका लागि कैदीवन्दीलाई सहजीकरण समेत गरिरहेका छौं ।’
कार्यक्रममा उनले युवाहरु आधा विदेशिएको र आधा युवा जेल जीवन विताइरहेको बताएका छन् । देश संवृद्ध बनाउन युवालाई विदेश पठाएर र जेलमा हालेर संभव नहुने उनको भनाई थियो । पोखरेलले जेलभित्र कैदीवन्दीको संख्या बढ्दै गइरहेकोले औषधि उपचार, सुत्नबस्न अप्ठ्यारो भएको बताए । सरकारले उपलब्ध गराउने दैनिक ८० रुपैयाँ वैज्ञानिक नभएको भन्दै सिधा टार्न समस्या भइरहेको प्रतिवेदनमा उल्लेख गरेका छन् । पोखरेलले ७०० ग्राम चामलले दुई छाक टार्न पुगे पनि ८० रुपैयाँले अन्य खर्च अपुग भएको बताए ।
बन्दी पुस्तकालयका सचिव पोरखेलले असल चाल चलन भएका कैदीबन्दीलाई दिईने कैद छुटको व्यवस्थामा समेत अंकुल लगाईएको उनको गुनासो थियो । पोखरेलले भने, ४० प्रतिशत कैद भुक्तान गर्दा ६० प्रतिशत छुट दिइएकोमा पुनः५० प्रतिशत बस्नुपर्ने प्रावधान बेठिक छ ।
प्रतिवेदनमा कारागारको संरचना विगतम भन्दा सुधार भएको उल्लेख छ । भान्सा कोठाको स्तरोन्नति, बन्दी विकास पुस्तकालयको भवन मर्मत गरिएको बताइएको छ । उनले यो वर्ष पनि स्वास्थ्य शिविर सञ्चालन गर्ने, योग अभ्यास सञ्चालन गर्ने, २ वटा सीप मुलक कार्यक्रम सञ्चालन गर्ने, बन्दी स्मारिका प्रकाशन गर्ने भावी प्रस्तुत गरेका थिए ।
बन्दी पुस्तकालयका अध्यक्ष लय शिवाकोटीको अध्यक्षतामा भएको कार्यक्रममा नेपाली कांग्रेस झापाका सभापति देउमान थेवे, निवर्तमान प्रदेश सांसद बसन्त बाँनिया, शिवसताक्षी नगरपालिकाका मेयर रोशन थोप्रा लगायतले शुभकामना मन्तव्य राखेका थिए । कार्यक्रममा विभिन्न झाँकीसहितको सांस्कृतिक कार्यक्रम प्रस्तुत गरिएको थियो ।