अव्यवस्थित बसोबासको जग्गादर्तामा राजश्व घटाउन माग
बिर्तामोड । नेपाली काँग्रेस झापाको बिहीबार बसेको बैठकले भूमिहीन तथा अव्यवस्थित बसोबासलाई जग्गा दर्ता गरी धनीपूर्जा उपलब्ध गराउँदा लगाइएको राजश्व घटाउन माग गर्ने निर्णय गरेको छ ।
नेपाली काँग्रेस झापाका सभापति देउकुमार थेबेको सभापतित्वमा सम्पन्न कार्यसमितिका पदाधिकारी, सदस्य, क्षेत्रीय सभापतिसहितको बैठकले अव्यवस्थित बसोबासको एक परिवारलाई एक विगाह सम्म जग्गाको लालपुर्जा उपलब्ध गराउँदा निःशुल्क र त्यसभन्दा माथि भए सरकारी मूल्यको ५ प्रतिशत राजश्व लिन सरकारसँग माग गर्ने निर्णय गरेको सचिव कृष्ण हुमागाईँले जानकारी दिए ।
त्यसैगरी बैठकले स्वतन्त्र विद्यार्थी युनियनको यही चैत ५ गते हुने निर्वाचनमा नेपाल विद्यार्थी संघका उम्मेद्वारहरुलाई विजयी गराउन आ–आफ्नो स्थानबाट सहयोग गर्न तमाम् विद्यार्थी समुदाय र पार्टीका जिल्ला कार्य समितिका पदाधिकारी सदस्य र तहगत समितिलाई परिचालन गर्ने निर्णय गरेको कार्यालय सचिव जयकुमार दाहालले जानकारी दिए ।
त्यसैगरी नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल राष्ट्रपतिमा निर्वाचित भएकोमा उनीप्रति हार्दिक बधाई ज्ञापन गर्दै मतदान गर्ने सांसदहरू र उनलाई उम्मेदवार बनाएकोमा पार्टी नेतृत्वलाई धन्यवाद दिने बैठकले निर्णय समेत गरेको छ ।
नेपाली काँग्रेस झापाका जिल्ला सदस्य रमेशकुमार दाहालकी माता चन्द्रकुमारी दाहालको निधनप्रति श्रद्धाञ्जली व्यक्त गर्दै शोकाकुल परिवारजनमा समवेदना व्यक्त गर्दै शोक प्रस्ताव पारित गरेको छ ।