२०८३ बैशाख ३० गते , बुधबार

माईधारको पश्चिम तटमा लक्ष्मी–नारायणको भव्य दिव्यदेश निर्माण हुँदै

sajilo news
झापा
२०७९ चैत्र ५ गते , आईतबार
माईधारको पश्चिम तटमा लक्ष्मी–नारायणको भव्य दिव्यदेश निर्माण हुँदै

झापाको शिवसताक्षी १०, माईधारस्थित लक्ष्मी नारायण मन्दिर परिसरमा अनुमानित १३ करोड लागतमा भगवान् लक्ष्मी नारायणको भव्य दिव्यदेश निर्माण भइरहेको छ ।

जगद्गुरु योगीराज श्री कमलनायनाचार्यको तपोभूमिस्थल लक्ष्मी नारायण मन्दिर तथा धाम परिसरमा दक्षिण भारतमा अवस्थित बललाजी मन्दिरको स्वरूप र कलाकृतिमा दिव्य धाम निर्माण भइरहेको हो ।

झन्डै ९ बिगाहा क्षेत्रफलमा फैलिएको आश्रम परिसरलाई धार्मिक पर्यटनका रुपमा विकास गर्ने एवम् दिव्य धामका रुपमा विस्तार गर्ने उद्देश्यले धामको महिमासमेत उजागर गर्ने किसिमले दिव्य धाम निर्माण भइरहेको दिव्य धाम निर्माण समितिका सचिव हरिप्रसाद तिम्सिनाले जानकारी दिए । गत वैशाखमा शिलान्यास गरिएको मन्दिरको भूइँतलाको निर्माण सम्पन्न भइसकेको छ भने हाल मन्दिरका आकर्षण गजुरहरू बालाजी मन्दिरको कलात्मक शैलीमा निर्माण भइरहेको सचिव तिम्सिनाले बताए ।

मन्दिरको कलाकृतिका लागि भारतको बालाजी मन्दिर निर्माणमा महत्त्वपूर्ण भूमिका निर्वाह गरेको सिम्ह शिल्प कन्स्ट्रक्सनका सञ्चालक आर लक्ष्मी नरसिंह अय्यगार आएका छन् । उनले भारतबाटै शिल्पीहरू ल्याएका छन् मन्दिरलाई कलात्मक बनाउन ।

। यस क्रममा, मन्दिरलाई पूर्णता दिने एवम् मन्दिरको ५२ औं वार्षिकोत्सवको अवसर पारेर नव दिवसीय तुलसीकृत राम कथा ज्ञान महायज्ञ आयोजनाको तयारी गरिएको छ । महायज्ञ सम्पादन समितिले आज मन्दिर परिसरमा पत्रकार सम्मेलन गरी चैत ८ देखि १६ गतेसम्म महायज्ञ आयोजनाको तयारी गरिएको समितिका अध्यक्ष एवम् मन्दिरका व्यासाचार्य स्वामी भागवताचार्यले जानकारी दिए । 

गोदुग्धहारी जगद्गुरु योगीराज कमलनयनचार्य स्वामीजी महाराजको तपोभूमिको रुपमा रहेको आश्रम परिसरमा भगवान् श्रीलक्ष्मी नारायणको दिव्य मन्दिरका अतिरिक्त नेपाल सरकारबाट अनुमति प्राप्त आधारभूत तहको कक्षा १ देखि ८ सम्म श्री अनन्त दर्श संस्कृत वेद विद्यालय, कमलनयनाचार्य पुस्तकालय, छात्रावास, श्री लक्ष्मीनारायण वैष्णव लय, गौशाला, धर्मशाला जस्ता संरचनाहरू निर्माण भइसकेका छन् ।

विश्वका वैदिक सनातनीहरूको लागि महत्त्वपूर्ण गन्तव्यका रुपमा विकसित हुँदै गएको उक्त स्थानमा श्री सम्प्रदायका अनुयायीहरूका लागि एक गौरवपूर्ण इतिहासको नवीनतम संरचनाका रुपमा समेत स्थापित हुने भागवताचार्यको भनाइ छ ।

त्योसँगै मन्दिर परिसरको पूर्वतर्फको करिब ४ बिगाहा जग्गामा पवित्र कनकाई नदीको पवित्र जल प्रवाह गरी जलाशय निर्माण गर्ने र सो जलाशयभित्र सनातन धर्मवलम्बीहरुको पवित्र चारधाम मुक्तिनाथ, बदरीनाथ, द्वारका र जगन्नाथ भगवानको दिव्य मन्दिर निर्माण गरी सो मन्दिरमा दर्शन गर्न जलमार्गको प्रयोग गरी जाने व्यवस्था गरिने जनाइएको छ । मन्दिर परिसरमा अत्यन्त आकर्षक पुष्प वाटिका निर्माण गरी बुटिक परिसर बनाएर उक्त क्षेत्रलाई धार्मिक पर्यटकीय गन्तव्य बनाउने परिकल्पना रहेको भागवताचार्य बताउँछन् ।

चैत ७ गते दिव्यकलश एवम् बाजागाजा, झाँकीसहित शोभा यात्रा गरिने महायज्ञको उद्घाटन कोसी प्रदेश सरकारका मुख्यमन्त्री हिक्मत कार्कीले गर्ने बताइएको छ ।  ८ देखि १६ गतेसम्म अन्तर्राष्ट्रिय ख्यातिप्राप्त युवा विद्वान् श्री अच्युत प्रपन्नाचार्य (अर्जुन रिमाल)–बाट नवाह व्यापी तुलसीकृत रामायण कथा सङ्गीतमय प्रवचनका साथै विशिष्ट विद्वानहरूबाट प्रवचन रुपी ज्ञान प्रवाहसहित महायज्ञ सम्पन्न गरिने पत्रकार सम्मेलनमा जानकारी दिइएको छ । 

महायज्ञमा सुप्रभातमा, स्वस्तिवाचनम्, मण्डप पूजन, सङ्गीतमय तुलसीकृत रामायण पाठ पारायण, सङ्गीतमय राम कथा प्रवचन, गरुडध्वजारोहण, मृदाहरण, दिव्य प्रबन्ध विविध ग्रन्थ पाठ परायण, भगवानको सवारी साथ नगर परिक्रमा, घडाद्वारा महाअभिषेक, सामूहिक व्रतबन्धलगायतका कार्यक्रम हुने बताइएको छ । 

 

सम्बन्धित समाचार