२०८३ बैशाख ३१ गते , विहीबार

सिरुवा पर्व मनाउन र संग्राहलय बनाउन भद्रपुरका संस्थाहरू एकजुट

sajilo news
पार्थ मण्डल
२०८० बैशाख १ गते , शुक्रबार
सिरुवा पर्व मनाउन र संग्राहलय बनाउन भद्रपुरका संस्थाहरू एकजुट

झापा । राजवंशी समुदायभित्रको आन्तरिक विवाद र किचलोलाई अन्त्य गर्दै सद्भाव र एकता कायम गर्ने उद्देश्यले भद्रपुर नगर क्षेत्रका संस्थाहरू एकजुट भएका छन् ।

विगतका वर्षहरूमा छुट्टाछुट्टै साङवारी सिरुवा पर्व मनाउँदै आएका संस्थाहरू यसबर्ष एक ठाउँमा उभिएर एउटै मञ्चबाट सिरुवा पावनी भव्यताका साथ मनाउन लागेको हो ।

आदिवासी राजवंशी भाषिक सांस्कृतिक विकास प्रतिष्ठान, राजवंशी समाज विकास समिति, राजवंशी समाज कल्याण समिति र कोचिला एकता जागरण समिति भद्रपुरले बिहीबार संयुक्त रुपमा पत्रकार सम्मेलन गर्दै भद्रपुर– ६ स्थित भतियाबारीमा साङवारी सिरुवा पर्व तथा संग्राहलय शिलान्यास कार्यक्रम गर्न लागेको जानकारी गराएको हो ।

नयाँ वर्षको सुरुवातसँगै तराई क्षेत्रमा बसोबास गर्ने राजवंशी, थारु, गनगाई, ताजपुरिया, माझी, हलुवाई, देशीनाई लगायतका आदिवासी जातजातिहरूले सिरुवा पर्व मनाउँदै आएका छन् । तराईका आदिवासी समुदायले आफ्नो परम्परामध्ये विशेष पर्वका रुपमा यस पर्वलाई तीन दिनसम्म मनाउने चलन छ । जसमध्ये पहिलो दिन ९वैशाख १ गते० जल सिरुवा, बैशाख २ गते काद सिरुवा र बैशाख ३ गते रङ्ग सिरुवा खेल्ने गरिन्छ ।

एक आपसमा भ्रातृत्व र बन्धुत्वको सम्बन्धलाई बढाउन शुभकामना आदान–प्रदान गर्दै सामूहिक रुपमा हर्षोल्लासका साथ यो पर्व मनाउँदै आएको प्रतिष्ठानका अध्यक्ष तुलाराम राजवंशीले जानकारी दिए । यस पटक भद्रपुरमा बैशाख ३ गते एउटै मञ्चबाट सिरुवा पर्व धूमधामका साथ मनाउन लागेको उनले बताए । सोही दिन प्रतिष्ठानले राजवंशी भाषिक सांस्कृतिक संग्राहलयको शिलान्यास कार्यक्रम पनि राखेको उनको भनाई छ ।

स्थानीय जग्गादाता ढकेन्द्रसिंह राजवंशीले दुई कट्ठा, कमल राजवंशी, मालचन राजवंशी, अर्जुन विष्ट, गणेश अधिकारी र धनमति तामाङ राजवंशीले एकरएक कट्ठा गरी प्रतिष्ठानलाई सात कट्ठा जग्गा निःशुल्क उपलब्ध गराएको र नगरपालिकाले पहिलो चरणमा संग्राहलय बनाउन चालु आर्थिक वर्षमा २० लाख रुपैयाँ बजेट छुट्टाएको छ ।

आफ्नो जातीय धर्म, भाषा, संस्कृति, भेसभुसाहरू झल्किने खालको संग्राहलय बनाउन अनुमानित ५ करोड रुपैयाँ लाग्ने बताउँदै उनले भने, ‘संग्राहलयका निर्माणका लागि आफ्नै समुदायसँगै तीनै तहका सरकार र विभिन्न सङ्घसंस्थाबाट आर्थिक सहयोग रकम जुटाउने अभियानमा छौँ ।’

राजवंशी समुदायको हितमा गठित संस्थाहरू बीचको विवाद र फुटका कारण हाम्रो समुदाय एकजुट भएर अघि बढ्न नसकिरहेको अवस्थामा भद्रपुरका संस्थाहरूले सिरुवा पर्वसँगै मनाएर एकताको सन्देश दिन लागेको राजवंशी समाज कल्याण समितिका अध्यक्ष जगण राजवंशीले बताए ।

कार्यक्रममा भद्रपुर ६ नम्बर वडा अध्यक्ष रतिया राजवंशी, राजवंशी विकास समितिका अध्यक्ष पवन राजवंशी, कोचिला एकता जागरण समितिका अध्यक्ष विजयकुमार राजवंशी, प्रतिष्ठानका सचिव नन्दकुमार राजवंशी लगायतले आआफ्नो धारण राखेको कार्यक्रमको सञ्चालन सन्तोष राजवंशीले गरेका थिए । यता भद्रपुर नगरपालिकाले बैशाख ३ गते स्थानीय बिदा समेत दिएको छ ।

आदिवासी समुदायको सिरुवा पर्व र लोपोन्मुख मेचे समुदायको राष्ट्रिय बैशागु बथर पर्वलाई मध्यनजर नगरपालिकाले स्थानीय बिदा दिएको हो । स्थानीय बिदाको माग गर्दै नगर क्षेत्रका चार वटै संस्थाले बिहीबार बिहान नगरपालिकालाई ज्ञापनपत्र बुझाएका थिए ।  

सम्बन्धित समाचार