आज आदिवासी समुदायले दधिकाद पर्व मनाउँदै
नेपालको पूर्वी तराईमा बसोबास गर्ने आदिवासी समुदायका राजवंशी, गनगाई, ताजपुरिया जातिले आज दधिकाद पर्व मनाउँदै छन् ।धार्मिक एवम् सांस्कृतिक रुपमा महत्त्वपूर्ण यो खेल पर्व हो । झापा, मोरङ र सुनसरी जिल्लाका आदिवासी समुदायले श्रीकृष्ण जन्माष्टमीको भोलिपल्ट दधिकाद पर्व मनाउँछन् । दधिकाद खेल खेलाउँदा आफ्नो मनले चाहेको पुग्ने जनविश्वास छ । भगवान् कृष्णले दही चोरेर खाने र दहीको हिलोमा खेलेको सम्झनामा अहिले माटोको हिलोलाई नै दही मानी खेल्ने गरिन्छ ।
झापाको गरामनी ,गौरादह, खजुरगाछी, शिवगञ्ज, दुवागढी , कनकाई तथा मेचीनगर नगरपालिकालगायतका स्थानमा बसोबास गर्दै आएका राजवंशी समुदायले आज दधिकाद पर्व आयोजना गरेका छन् । ती ठाउँका राजवंशी समुदायले भजन कीर्तन गर्दै तेल दलेको चिल्लो बाँसमाथि चढेर पोको फुकाउने, हिलो दलेर नरिवल खोस्ने, हाँडी फुटाएर पुरस्कार जित्ने प्रतियोगितात्मक खेलकुदलगायत एक आपसमा हिलो दलादल गरेर यो पर्व मनाउँछन् ।