२०८३ बैशाख १९ गते , शनिबार

दशैं मेला लाग्ने ठाउँ अतिक्रमित, आदिवासीहरूको संस्कृति संकटमा

sajilo news
झापा
२०८० कार्तिक ८ गते , बुधबार
दशैं मेला लाग्ने ठाउँ अतिक्रमित, आदिवासीहरूको संस्कृति संकटमा

दशै मेला लाग्दै आएको झापाका अधिकांश ठाउँ अतिक्रमित भएका छन् । ठाउँको अभावमा परम्परादेखिको दशै मेला संकटमा परेको छ । ठाउँको अभावमा दशै मेला घट्नुका साथै साँघुरो ठाउँमा मेला अव्यवस्थित बन्दै गएको छ । दशै मेला लाग्ने झापाको गरामनि , बिर्ताबजार, राजगढ , घैलाडुब्बा, भद्रपुर, चकचकी फूलबारी, अर्जुनधाराको बैशावारी, शनिश्चरे, चारआलीलगायतका अधिकांश ठाउँलाई अतिक्रमण गरिएको हो । मेला लाग्दै आएको विद्यालयका खेलमैदान ,ऐलानी पर्ती जग्गा मासिएको छ ।

परापूर्वकालदेखि दशैमा लाग्दै आएको मेलाहरूलाई विस्थापित गर्न खोजेपछि मेला भरेर दशै मान्दै आएका आदिवासीहरूको मेला संस्कृति संकटमा परेको छ । दशैको महानवमीको दिनदेखि गरामनीबाट शुरु हुने मेला एक सातासम्म विभिन्न ठाउँमा लाग्ने गरेको थियो । मेलामा रमाइलो गरेर उनीहरूले दशै मान्ने गरेका थिए ।

महानवमीको दिन गरामनीको दुर्गा मन्दिरमा महापूजा,दशमीका दिन बिर्ताबजार, घैलाडुब्बा , राजगढ, एकादशीका दिन गरामनि,द्वादशीका दिन चारआली , त्रयोदशीका दिन शनिश्चरे , चतुर्दशीका दिन बैशावारी र कोजाग्रत पूर्णिमा दिन चकचकीको फूलबारीमा मेला भरेपछि उनीहरूको दशै सकिन्थ्यो । त्यसबाहेक भद्रपुर , भारतको चुल्ली मेला पनि चर्चित मेलाको रुपमा रहेको थियो । तर, अहिले बढ्दो सहरीकरणसँगै आदिवासीहरूको मेला संस्कृतिको महत्त्व नबुझिदिँदा दशै मेलाहरू संकटमा परेको आदिवासी नेता त्रिनारायण राजवंशी गुनासो गर्छन् । उहिले यातायातका साधन नभएको बेला सम्पनी गाडा (सजिसजाउ पारिएको गोरु गाडा) मा चढेर सपरिवार मेला भर्न गएको र मेलामा धक्रा झालङ (झल्ला र तन्ना)मा बसेर घुम्नी मुरी (चना मुरै) र जुलपी खाएको सम्झना उनीमा अझै बाँकी छ ।अहिलेको जस्तो होहल्ला र ठेलामठेल मेलामा हुने नगरेको उनले बताए । मेला भर्नकै लागि आदिवासीहरूले दशैमा नयाँ लुगा किन्ने गरेका छन् ।

एकादशीका दिन लाग्ने गरामनि मेलालाई झापा जिल्लाकै नामी मेलाको रुपमा लिइन्थ्यो । त्यहाँ झापा, मोरङका मात्र नभएर भारतका मानिसहरू पनि मेला भर्न आउँथे । दुर्गा मावि अगाडिको खुला चौर र दुर्गा मन्दिर अगाडिको खाली ठाउँमा भव्य मेला लाग्ने गर्थ्यो । ती सबै ठाउँहरू अहिले घरले भरिएका छन् । मेला लाग्ने ठाउँ नै छैन । हिजो दशमीका दिन बिर्ता बजारमा मेला लाग्ने ठाउँ भएन । बाटोमै मेला लगाउँदा आवतजावतमा समस्या भएको थियो ।

त्यस्तै प्रत्येक वर्ष दशैको टिकाको दिन रतुवा पुलदेखि सशस्त्र क्याम्पसम्म सडक जाम हुने गरेको छ । यो जाम हुनुको प्रमुख कारण लखनपुरमा लागेको मेला हो । उक्त मेला पूर्वपश्चिम राजमार्गमै लाग्ने गरेकोले मानिसहरूको भीडले सडक जाम हुने गरेको हो ।

सम्बन्धित समाचार