२०८३ बैशाख १९ गते , शनिबार

आज भाइटीका : दाजुभाइ कता फर्केर टीका लगाइमाग्ने ?

sajilo news
झापा
२०८० कार्तिक २९ गते , बुधबार
आज भाइटीका : दाजुभाइ कता फर्केर टीका लगाइमाग्ने ?

यमपञ्चकको पाँचौँ दिन बुधबार भ्रातृद्वितीया अर्थात् भाइटीका। दिदीबहिनीले दाजुभाइको आरोग्य, ऐश्वर्य र दीर्घायुको कामना गर्ने पर्व। पुराणमा यो दिन मार्कण्डेयलगायत अष्टचिरञ्जीवी, यम र यमुनाको पूजा गरी दाजुभाइको पूजा गर्ने विधि उल्लेख छ। दाजुभाइको दीर्घायुको कामना गर्दै अष्टचिरञ्जीवी,यमराज र उनकी बहिनी यमुनाको पूजा गरी दिदीबहिनीले दाजुभाइलाई टीका लगाउने परम्परा  छ

दिदीबहिनीले दाजुभाइको निधारमा सप्तरंगी वा पञ्चरंगी टीका, गलामा मखमली वा दुवोको माला लगाउने, तेलको धाराले दाजुभाइले घेर्ने र ओखरको पूजा गरी फोर्ने लगायतका प्रक्रिया अपनाउँछन्। दाजुभाइले पनि दिदीबहिनीलाई टीका लगाउने गर्छन्।

दिदीबहिनीको पूजा गर्नाले ऐश्वर्य प्राप्त हुने मान्यता रहेको धर्मशास्त्री प्राडा रामचन्द्र गौतमले बताए। टीका लगाएसँगै दिदीबहिनीले सेलरोटी, फलफूल, मसला आदि सगुन दिने र दाजुभाइले पनि गच्छेअनुसार दक्षिणा र लुगाफाटो उपहार दिने चलन छ।

पञ्चाङ्ग निर्णायक विकास समितिका अध्यक्ष प्रा.श्रीकृष्ण अधिकारीले बिहान १० बजेर ५१  मिनेटको समय उत्तम रहेको जानकारी दिए। यद्यपि दिनभर टीका लगाउन सकिने उनले बताए।  बुधबार १९ घडी ९ पला अर्थात् २ बजेर ५ मिनेटसम्म द्वितीया तिथि रहेको पञ्चाङ्गले जनाएका छन्। 

आज भाइटीका लगाउँदा कुन दिशा फर्किने ?

भाइटीका गर्दा दाजुभाइ कता फर्केर टीका लगाइमाग्ने?, दिदीबहिनी कुन दिशामा फर्केर लगाइदिने ? सबैको चासोको विषय हुन्छ। यो वर्षको भाइटीकामा टीका लगाइमाग्ने दाजुभाइ पश्चिम र लगाइदिने दिदीबहिनी पूर्व फर्किनुपर्ने नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका अध्यक्ष प्रा. श्रीकृष्ण अधिकारीले जानकारी दिए। ‘चन्द्रमा वृश्चिक राशिमा भएकाले टीका लगाउने व्यक्तिको दाहिने पार्नु पर्छ’, उनले भने, त्यसैले लगाइमाग्ने दाजुभाइ पश्चिम र लगाइदिने दिदीबहिनी पूर्व फर्किनुपर्छ।’ 

सनातन धर्ममा शुभकार्य गर्दा चन्द्रमाको दिशा हेर्ने परम्परा छ। बुधबार चन्द्रमा वृश्चिक राशिमा रहेको छ। शुभकार्य गर्दा चन्द्रमालाई अगाडि वा दाहिने पार्नुपर्छ। चन्द्रमालाई अगाडि पार्ने क्रममा दाजुभाइ उत्तर फर्किँदा दिदीबहिनी दक्षिण फर्किनुपर्ने भएकाले पूर्व–पश्चिम नै निर्देश गरेको अधिकारीले बताए।

दक्षिण दिशाचाहिँ पितृकर्मका लागि उपयुक्त मानिन्छ। दिदीबहिनी दक्षिण फर्किनुपर्ने भएकाले त्यसैले यो भाइटीकामा टीका लगाइमाग्ने दाजुभाइलाई उत्तर नफर्किन भनिएको हो।

चन्द्रमाको दिशा नहेर्दा पूजाआदि शुभकार्यमा पूर्व वा उत्तर फर्किनुपर्ने मान्यता पनि छ। नेपाली समाजमा कार्तिक शुक्ल द्वितीयामा दिदीबहिनीले दाजुभाइलाई श्रद्धा, आस्था र निष्ठाका साथ दीर्घायु, आरोग्य र ऐश्वर्य प्राप्तिको कामना गर्दै परम्परा अनुसार पञ्चरङ्गी वा सप्तरङ्गी टीका लगाउने  चलन छ।

सम्बन्धित समाचार