२०८३ बैशाख १९ गते , शनिबार

सामुदायिक भवन निर्माण गर्ने उदेश्यले मेचीनगरको सहरेडाँगीमा महापुराण

sajilo news
झापा
२०८० मंसीर ८ गते , शुक्रबार
सामुदायिक भवन निर्माण गर्ने उदेश्यले मेचीनगरको सहरेडाँगीमा महापुराण

सामुदायिक भवन निर्माण गर्ने उद्देश्यले झापाको मेचीनगर नगरपालिका–१२ स्थित सहरेडाँगीमा महापुराण आयोजना हुने भएको छ ।मेचीनगर–१२ स्थित पञ्चवटी वीरभद्र महाकाली धामको आयोजनामा यही मंसिर १५ देखि २१ गतेसम्म श्रीमद्भागवत सप्ताह ज्ञान महायज्ञ, धन–धान्यञ्चल महापुराण हुने भएको हो । आज मन्दिर परिसरमा पत्रकार सम्मेलनको आयोजना गरी महापुराणबारे आयोजक समितिका अध्यक्ष तिलकप्रसाद गिरीले जानकारी दिए । महापुराणको कथा वाचन भागवत मञ्जरी पूज्य राधिका दासीले गर्नुहुने उनले जानकारी दिए।

मन्दिरलाई व्यवस्थित गर्दै सामाजिक तथा धार्मिक भाव फैलाउने, अतिथि सदन र सामुदायिक भवन निर्माण, ज्येष्ठ नागरिक चौतारी निर्माण र जग्गा घेराबारा गर्ने, जिल्लाभित्र र बाहिर धार्मिक पर्यटनलाई बढवा दिने, कोष स्थापना गर्ने उद्देश्यले यो पुराणको आयोजना गर्न लागिएको आयोजक समितिका अध्यक्ष गिरीले बताए ।

मन्दिरको यी कार्यका लागि करिब एक करोड ५० लाख रुपैयाँ आवश्यक पर्ने पुराण प्रचार–प्रसार समितिका संयोजक प्रेमराज घिमिरे बताए । पुराणको माध्यमबाट थोरबहुत आर्थिक सहयोग सङ्कलनसँगै धार्मिक कार्यक्रम गर्न पुराण आयोजना गर्न लागिएको उनको भनाइ छ । करिब एक करोड सङ्कलन गर्ने लक्ष्य राखिएको महापुराणका लागि २० देखि २५ लाख रुपैयाँ खर्च हुने अनुमान गरिएको छ भने दैनिक २ हजार भक्तजन आउने अपेक्षा राखिएको छ ।

२०७२ सालमा मेचीनगर–१२ का रवीन्द्र प्रसाईँ, गङ्गादेवी, लक्ष्मी प्रसाईँले उहाँका मातापिता÷ सासुससुरा यशोदा र अभिचन्द्र प्रसाईँको स्मृतिमा मन्दिर निर्माण गरिएको हो । उहाँहरूले मन्दिरको नाममा २ कट्ठा ३ धुर जग्गा दान दिएकोमा सर्पट नापीबाट जग्गा थप भई हाल मन्दिरको ६ कट्ठा ५ धुर जग्गा रहेको मन्दिर व्यवस्थापन समितिका अध्यक्ष इन्द्रमणि प्रसाईँले बताए ।

पत्रकार सम्मेलनमा नेपाल पत्रकार महासंघ झापाका अध्यक्ष एकराज गिरी, प्रेस क्लब मेचीनगरका अध्यक्ष डम्बर बरालले महापुराणको सफलताका लागि सञ्चार क्षेत्रबाट सक्दो सहयोग गर्ने प्रतिबद्धता जनाए । कार्यक्रममा मन्दिर व्यवस्थापन समिति, पुराण आयोजक समितिका पदाधिकारी एवम् धार्मिक व्यक्तित्वहरूको उपस्थिति रहेको थियो ।

सम्बन्धित समाचार