२०८३ बैशाख ३१ गते , विहीबार

पाकिस्तानको सपिङ मलमा आगलागी, ११ जनाको मृत्यु, ३५ घाइते

sajilo news
एजेन्सी
२०८० मंसीर १० गते , आईतबार
पाकिस्तानको सपिङ मलमा आगलागी, ११ जनाको मृत्यु, ३५ घाइते

पाकिस्तानको व्यापारिक राजधानी कराँचीस्थित सपिङ मलमा शनिबार आगलागी हुँदा ११ जनाको मृत्यु हुनुका साथै ३५ जना घाइते भएको अधिकारीहरूले बताएका छन् ।

दक्षिणी बन्दरगाह सहरस्थित छ तले भवनको चौथो तलामा आगलागी हुँदा ६० जनाभन्दा बढी मलभित्र रहेका थिए । ‘हाम्रा उद्धारकर्मीहरूले अहिलेसम्म ११ जनाको शवलाई अस्पतालमा लगेका छन् ,’ उद्धार सेवा सञ्चालन गर्ने चिप्पा कल्याणकारी संस्थाका प्रवक्ता शाहिद हुसेनले भने।

उनका अनुसार ३५ जना घाइते भएका छन् । घाइतेमध्ये सात जनाको अवस्था गम्भीर छ। प्रान्तीय स्वास्थ्य मन्त्रालयका प्रवक्ता शब्बीर अलीले मृत्यु हुनेको संख्या र घाइतेको संख्या पुष्टि गरेका छन् ।

जेनेरेटर सर्ट भएर भएको आगलागी भवनको दुई तलासम्म फैलिएको हुसेनल बताए । कमजोर सुरक्षा कानून र भवन संहिताका साथै ढिलो कार्यान्वयनका कारण पाकिस्तानमा ठूला भवनमा आगलागी हुने गरेको छ ।

सन् २०१२ मा पश्चिमी कराँचीको बलदिया टाउनमा रहेको एउटा कपडा कारखानामा आगलागी हुँदा कम्तिमा दुई सय ५० जना मजदुरको मृत्यु भएको थियो ।

सम्बन्धित समाचार