गुरु नानकको जन्मजयन्ती आज
शिख सम्प्रदायका प्रवर्तक गुरु नानकको जन्मजयन्ती सोमबार मनाइँदैछ। गुरु नानकको जन्म वि.सं.१५२६ कार्तिक शुक्ल पूर्णिमाका दिन पाकिस्तानको पञ्जाव प्रान्तमा भएको थियो।
गुरु नानकले जातिवादअन्त्य गरी मानवतावादी दर्शनको शुरुवात् गरेको बताइन्छ। उनले समाजमा व्याप्त अन्धविश्वास, घृणा र भेदभावअन्त्य गरी आपसी प्रेम र भ्रातृत्वको भावना अभिवृद्धि गर्ने उद्देश्यले विना भेदभाव निःशुल्क सामुदायिक भोजन गर्ने ‘लङ्गर परम्परा’ को थालनी गरेका थिए। उनको ‘गुरु ग्रन्थ साहेब’ प्रख्यात छ।
कार्तिक शुक्ल पूर्णिमाका दिन पवित्र स्थल गुरुद्वारामा विशेष पूजा अर्चना गर्दै विभिन्न धार्मिक एवं सामाजिक कार्यक्रम गरी उनको जन्मजयन्ती मनाइन्छ।
गुरु नानक जयन्तीका अवसरमा पशुपतिस्थित राजराजेश्वरी निर्मल अखडामा ‘गुरु ग्रन्थ साहेब’ पाठ गराउनुका साथै साधुसन्तलाई भण्डारा गराइने स्वामी गोकुलानन्दले जानकारी दिए। पशुपतिकै भष्मेश्वर, ज्ञानेश्वर र थापाथलीमा रहेको गुरु नानक मठमा पनि कार्यक्रम हुनेछ ।