हिन्दु सनातन धर्म संसारको उच्च सांस्कारिक विधिको धर्म हो : उपसभामुख राना
मेचीनगर । उपसभामुख इन्दिरा राना मगरले हिन्दु सनातन धर्म संसारको उच्च सांस्कारिक विधिको धर्म भएको बताएकी छन् । झापाको मेचीनगर-१२ सहरेडाँगीस्थित पञ्चावटी वीरभद्र महाकाली धाम मन्दिरको चौतर्फी विकासका लागि शुक्रबारदेखि आयोजित महापुराणको उद्घाटनपछि प्रमुख अतिथिको रुपमा सम्बोधन गर्दै उपसभामुख रानाले उक्त कुरा बताएकी हुन् ।
संसारमा मानिँदै आएका अन्य सबै धर्मको बारेमा चर्चा गर्दै प्रतिनिधिसभा सदस्यसमेत रहेकी रानाले हिन्दु सनातन धर्म सबैको साझा धर्म भएको बताएकी हुन् । परम्परागत र आधुनिक समयमा यसको महत्त्वबारे बताउँदै उनले पछिल्लो समयमा हिन्दु सनातन साँगुरिँदै आएको भन्दै सबै सचेत हुनुपर्ने बताइन् । उनले महिला हिंसालाई अन्त्य गर्न सरकारले लगानी गर्नुपर्ने बताइन् । १६ दिने अन्तर्राष्ट्रिय हिंसा दिवस चर्चा गर्दै लैगिक हिंसालाई अन्त्य गर्ने सरकारीस्तरको लगानीले मात्रै सफल हुने मगरको धारणा थियो ।
कार्यक्रममा मेचीनगरका मेयर गोपालचन्द्र बुढाथोकी, मन्दिर सञ्चालक समितिका अध्यक्ष इन्द्रमणि प्रसाईँले धारणा राखेका थिए । सभापति तिलकप्रसाद गिरीको अध्यक्षतामा आयोजित श्रीमद् भागवत सप्ताह ज्ञान महायज्ञ धन(धान्यञ्चल महापुराणमा भक्त खेवाङ्गले स्वागत तथा प्रेमराज घिमिरे र केशव भट्टराईले सञ्चालन गरेका थिए । कार्यक्रमपछि चर्चित भागवत वाचिका राधिका दासीले श्रीमद् भागवत सप्ताह ज्ञान महायज्ञ धन(धान्यञ्चल महापुराण सुरु गरेकी थिइन् ।
पुराणको पहिलो दिन मन्दिर धाम परिसरबाट चारआलीस्थित पाउँ पाथीभरा मन्दिरदेखि कालिझोडा हुँदै १ सय ८ कलश, सांस्कृतिक झाँकीसहितको कलश यात्रा सम्पन्न गरेको थियो ।
आन्तरिक तथा बाह्य पर्यटकलाई वडवा दिने उद्देश्यले बिर्सिँदै गएको नृत्य कर्म, धार्मिक अनुशासन, नयाँ पुस्तालाई धार्मिक अनुष्ठानको बारेमा अवगत गराउन, ज्येष्ठ नागरिकलाई चौतारी निर्माण गरी अनुभवको आदानप्रदान गराउन, धार्मिक तथा लोप हुन लागेका पुस्तक, प्रचीनकालका प्रयोग गरिने सामाग्री, बाजागाजाको व्यवस्थापन गर्न, चारआलि र बुधबारेमा व्यवस्थित अतिथि सदन नहुँदा सामाजिक कार्य गर्न धुलाबारी र बिर्तामोड लगायत टाढा जानुपर्ने अवस्थालाई मध्यनजर गर्दै विवाह , व्रतबन्ध, पार्टीका लागि व्यवस्थित गर्न अतिथि सदन वा सामुदायिक भवनको निर्माण गर्ने, श्रीपञ्चावटी वीरभद्र महाकाली धाम मन्दिरलाई घेराबारा तथा सञ्चालनलाई व्यवस्थित गर्न अक्षयकोषको स्थापना गर्ने योजना रहेको महापुराण व्यवस्थापन गरिएको अध्यक्ष गिरीले बताए । पुराणबाट १ करोड बढी आर्थिक सङ्कलन गर्ने अपेक्षा गरिएको आयोजकको भनाई छ ।