२०८३ बैशाख ३१ गते , विहीबार

भारतमा लोकसभा निर्वाचनअन्तर्गत आज दोस्रो चरणको मतदान

sajilo news
एजेन्सी
२०८१ बैशाख १४ गते , शुक्रबार
भारतमा लोकसभा निर्वाचनअन्तर्गत आज दोस्रो चरणको मतदान

भारतमा संघीय संसदको तल्लो सदन लोकसभा निर्वाचनअन्तर्गत आज दोस्रो चरणको मतदान हुँदै छ। आज १२ राज्य र केन्द्रशासित एक प्रदेशका गरी कुल ८९ सिटका लागि मतदान हुनेछ। एक हजार दुई सय १० उम्मेदवार प्रतिस्पर्धामा छन्। यी ८९ सिटमध्ये अघिल्लो निर्वाचनमा बीजेपीले ५५ र कंग्रेसले १८ सिट जितेका थिए।​

कंग्रेस नेता राहुल गान्धी लगातार दोस्रो कार्यकालका लागि निर्वाचित हुन प्रतिस्पर्धा गरिरहेको केरलको वायनाड निर्वाचन क्षेत्रमा पनि आजै  मतदान हुनेछ। केरलका सबै २० सिटका लागि आज मतदान हुनेछ। यसैगरी कर्नाटकका २८ मध्ये १४ सिट, राजस्थानका १३, महाराष्ट्र र उत्तर प्रदेशका आठ-आठ, मध्यप्रदेशका सात, असम र बिहारका पाँच-पाँच, छत्तिसगढ र पश्चिम बंगालका तीन-तीन सिटका लागि मतदान हुनेछ।

यस्तै मणिपुर, त्रिपुरा र जम्मु-कश्मीरका एक-एक सिटका लागि पनि भोलि नै मतदान हुनेछ । नेपालीभाषीहरुको बाहुल्य रहेको दार्जिलिङमा पनि मतदान हुनेछ।

आज हुने मतदानले राहुल गान्धीका अतिरिक्त कंग्रेस नेता शशि थरुर, लोकसभाका सभामुख ओम बिडला, अभिनयबाट राजनीतिमा प्रवेश गरेका चर्चित टीभी सिरियल रामायणका ‘राम’, अरुण गोबिलका साथै लगातार तेस्रो कार्यकाल जितेर ह्याट्रिक गर्ने प्रयासमा रहेकी चर्चित अभिनेत्री हेमा मालिनी लगायतको भाग्य निर्धारण गर्नेछ। अरुण गोबिल र हेमामालिनी दुवै भाजपाका उम्मेदवार हुन्।

पहिलो चरणअन्तर्गत अघिल्लो शुक्रबार २१ राज्य र केन्द्रशासित प्रदेशका एक सय दुई सिटका लागि मतदान भएको थियो। सात चरणमा हुने निर्वाचन जुन एकमा सकिनेछ। जुन चारमा सबै क्षेत्रको एकसाथ मतगणना गरिनेछ।

सम्बन्धित समाचार